काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई उनको बुबा स्वर्गीय गशेणमान सिंहसँग जोडेर संसदमा प्रश्न उठेको छ ।
बजेटमाथिको छलफलमा भाग लिने सांसदले उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिए लगत्तै स्पष्टीकरण माग गर्ने क्रममा उनको बुवा स्वर्गीय गणेशमान सिंह स्वर्गमा रिसाउनुहुन्छ कि देखि लिएर अहिले गणेशमान सिंह भएको भए के हुन्थ्यो लगायतका प्रश्न गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले गणेशमान सिंहको नाममा केहि जिल्ला र क्षेत्रमा बजेट विनियोजन भएको भए पनि धेरै जिल्ला र क्षेत्रमा नभएको गुनासो गर्दै उपप्रधानमन्त्री सिंहका बुवा गणेशमान सिंह स्वर्गमा पनि रिसाउनुहुन्छ कि भन्दै प्रश्न गरे ।
उनले भने, ‘लोहो पुरुष गणेशमान सिंहको नाममा केही जिल्ला क्षेत्रमा बजेट विनियोजन गरेको देखियो । बाँकी जिल्ला क्षेत्रमा देखिएन । कतै यो बजेट विनियोजन छोराले नगरिदिँदा स्वर्गमा पनि बुवा रिसाउनु हुन्छ कि ? त्यसको जवाफ के हो ?’
माओवादी केन्द्रकै सांसद गंगा कार्कीले त झ आदर्श परिवारको मन्त्री भएर पनि आठ दश जिल्लामा मात्रै बजेट विनियोजन गरेर समान र समावेशी विकास कसरी हुन्छ भन्दै प्रश्न गरे । उनले बजटे सबै प्रधानमन्त्री, मन्त्री, सचिव र विचौलियाको पहुँचमा गएको पनि आरोप लगाए ।
उनले भने, ‘शहरी विकास मन्त्रालयले एउटै जिल्लामा डेढ सय योजनामा बजेट हाल्ने, कुनै जिल्लामा डेढ वटा पनि छैन । के अरु जिल्लाले कर तिरेका छैनन् ? राज्यका नागरिक उनीहरु होइनन् ? बजेट जति प्रधानमन्त्री, मन्त्री, सचिव, बिचौलियाको पहुँचमा गएका छन् । आठ दश जिल्लामा मात्रै हालियो । आदर्श परिवारका मन्त्री ज्यू, आठ दश जिल्लाको बजेट हालेर समान र समावेशी विकास कसरी हुन्छ ? के प्राकृतिक न्याय भनेको यही हो मन्त्री ज्यू ? के आदर्श परिवारका सदस्यले दिने न्याय यही हो ?’
माओवादी सांसद कार्कीले उपप्रधानमन्त्री सिंहलाई उनका बुवा गणेशमान सिंहले प्रधानमन्त्री पद नै त्यागेर कृष्णप्रसाद भट्टराईलाई बनाएको भए पनि उनकै छोराले जनताको रगत र पसिना र करबाट आएको बजेट असमान र अपमान गरिएको बताए ।
उनले भने, ‘गणेशमानले त प्रधानमन्त्री त्यागेर कृष्ण प्रसाद भट्टराईलाई बनाएका थिए । उहाँकै सुपुत्रले जनताको रगत पसिना र करबाट आएको जनताको सम्पत्ति वितरणमा असमान अपमान गरियो भन्ने विश्वभर नकारात्मक सन्देश गएको छ । गणेशमान यतिखेर हुनुभएको भए के भन्नुहुन्थ्यो होला ? यो बजेट पुनर्विचार गरियोस् भन्ने कुरा राख्न चाहन्छु ।’
सत्तारुढ दल नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले आफुले सिफारिस गरेका योजना रद्दीको टोरीमा फोरले कस्तो सन्तुलित बजेट ल्याउनुभएको हो भन्दैप प्रश्न गरे । उनले आफ्नो निर्वाचन क्षेत्र प्यूठानमा विनियोजन गरिएको कार्यक्रमका बारेमा आवश्यक परेको खण्डमा सार्वजनिक रुपमा पनि बहस गर्न तयार रहेको चुनौती दिए ।
उनले भने, ‘प्युठान नगरपालिका ८ खप्रेङ खोलामा वडा कार्यालय भवन, सरुमारानी ६ को वडा कार्यालय भवन जो २०७८ सालमा पहिरोले पुरिएको थियो । प्युठान नगरपालिका ४ बिजुवारमा बेलबिरा भवन, प्युठान नगरपालिका ७ मा ब्रह्मकुमारी राजयोग केन्द्र भवन र प्युठान नगरपालिका ४ मा नरेन्द्र गायत्री आँखा अस्पताल केन्द्र भवन जस्ता मैले सिफारिस गरिएका योजना रद्दीको टोकरीमा फालेर कस्तो सन्तुलित, कस्तो जिम्मेवारीपूर्ण र कस्तो जवाफदेही चाहिँ बजेट र विनियोजन गर्नुभएको हो र प्युठानका यहाँले विनियोजन गरेका कार्यक्रमका बारेमा म पर्यो भने सार्वजनिक रुपमा पनि बहस गर्न तयार छु ।’
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले भने सरकारले बजेट विनियोजना गर्दा सकेसम्म सन्तुलित गर्नति लागेको बताए । उनले भने, ‘डिस्ट्रिब्युसन राम्रोसँग भएन, यो एकदम बायस भयो भन्ने जुन आएको छ, खास गरेर यो बजेटलाई हामीले सकेसम्म सन्तुलित गर्न तिर लागेको हो ।’
सत्तारुढ एमालेका सांसद सुर्य थापाको प्रश्नको जवाफ दिदैँ उनले प्यूठानमा ४० वटा कार्यक्रममा मन्त्रालयको बजेटको ०.४० प्रतिशत बजेट विनियोजन गरेको जानकारी गराए । उनले बाँकी पुलदेखि सडक हुदैँ विद्यालय भवन बनाउका लागि आगामी दिनमा प्रक्रिया पुर्याएर गर्ने प्रतिवद्धता जनाए ।
उनले भने, ‘लुम्बिनी प्रदेशको प्यूठान जिल्लामा पनि प्यूठान जिल्लामा शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१–८२ मा मन्त्रालयको कुल बजेटको ०.२९ प्रतिशत बजेट विनियोजन गरेकोमा आर्थिक वर्ष २०८२–८३ मा ४० वटा कार्यक्रममा ४८.२० करोड भन्नाले ०.४० प्रतिशत बजेट विनियोजन गरेको छ । त्यसैले कार्यक्रम नभएको होइन, कार्यक्रम भएको छ र अब बाँकी भएको पुलदेखि लिएर सडकदेखि भवन स्कुलको बनाउनेमा त्यसमा के गर्न सकिन्छ, त्यसमा छलफल गरेर हामीले अगाडि बढाउन सकिएला । त्यसमा विधि प्रक्रिया पूरा गरेर गर्नको लागि त्यसमा हामी प्रयास चाहिँ गर्नेछौँ ।’
रापेछापबाट निर्वाचित पूर्वराज्यमन्त्री समेत रहेका कान्छाराम तामाङले बजेटमा माथीको छलफलमा उपप्रधानमन्त्री सिंह र उपप्रधान एवम अर्थमन्त्री बिष्णु पौडेलमाथी व्यक्त गरेको आक्रोशको पनि सम्बोधन गर्दै सबै जिलला र क्षेत्रमा बजेट विनियोजन भएको दाबी गर्दै सबै सांसदलाई एक पटक रातो किताब अध्ययन गर्न अनुरोध गरे ।
उनले भने, ‘एउटा यो खास गरेर अब रामेछाप जिल्लाकै कुरा गरौँ । अब त्यत्रो माननीय ज्यूले ठूल्ठूलो स्वरबाट कुरा गर्नुभएको छ । नेपालको कुल जनसंख्याको ०.८ प्रतिशत मानिस बसोबास रहेको रामेछाप जिल्लामा शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२–८३ मा मन्त्रालयको कुल बजेटको ०.७ प्रतिशत ६६ वटा कार्यक्रम त्यसमा ८४ करोड ४७ लाख बजेट विनियोजन गरेको छ । अब माननीय ज्यूलाई लाग्छ मेरो क्षेत्रमा, मेरो जिल्लामा कम भयो भन्ने कुरा । जुन पुस्तिका राम्रोसँग अध्ययन गरेर हामीले आ–आफ्नो जिल्लामा के कति परेको छ भन्ने कुरा तपाईंहरुले बुझ्दिनको लागि म अनुरोध गर्न चाहन्छु ।’
गणेशमान सिंहलाई लिएर गरिएको प्रश्नमा उपप्रधानमन्त्री सिंहले आफ्नो बाबु तथा अरु नेताको नामका योजना यस पटक आफुले मात्रै नराखेर यस अघि देखि नै सञ्चालनमा रहेका योजनामा बजेट विनियोजना भएको स्पष्ट पारे । त्यसैले यसलाई फरक दृष्टिकोटबाट नहेरिदिन पनि अनुरोध गरे ।
उनले भने, ‘अब नेताजीको नाममा त्यसमा पनि आफ्नै पिताजीको नाममा बढी राख्यो भन्ने कुरामा यो जुन अहिले आवाज उठिरहेको छ । यो म शहरी विकास मन्त्रालयमा आएर मन्त्री भएर मात्रै मैले नेताजीको नाममा योजना अहिले मात्रै सुरु गरेको होइन । यो धेरै अगाडि देखि सुरु हुँदै आइरहेको छ र त्यसमा अब नयाँ योजना भनेको डीपीआर, इआइए गर्नको लागि तीनवटा नेताजीको नाममा यो परेको छ । अब नेताको नाममा सडक स्थानीय तहबाट माग भएको छ । जिल्लाबाट त्यसमा चार वटा छन् । ४२ वटा जुन प्रोग्राम मध्ये १४–१४ वटा मात्रै नयाँ योजना यसपटक जिल्लाबाट माननीय ज्यूबाट र माग भए बमोजिम भएको कारणले गर्दाखेरि फरक दृष्टिकोणबाट त्यसमा नहेरिदिनको लागि म अनुरोध गर्न चाहन्छु ।’

Leave a Reply