चौतारा । कफी खेतीका लागि सिन्धुपाल्चोकका किसानहरू आकर्षित हुन थालेका छन् । कफीका लागिका सिन्धुपाल्चोकको भूबनोट उत्तम मानिन्छ । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी हुने भएकाले यहाँका किसानहरू कफी खेतीमा आकर्षित हुन थालेका हुन् ।
सिन्धुपाल्चोकको १ सय २४ हेक्टर जमिनमा कफी खेती गरिने सिन्धु कफी सहकारी संघले जनाएको छ । संघका अनुसार जिल्लाका करिब २१ सय ५० बढी किसानले कफी खेती गरेका छन् । उनीहरू समूहगत र व्यक्तिगत रूपमा कफी खेती गर्दै आएका छन् । गत वर्ष एक करोड ३२ लाख रुपैयाँ बराबरको ३१ टन कफी उत्पादन भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग दिनानुदिन बढ्दै गइराखेको छ । सिन्धुपाल्चोकबाट मात्रै १० दशमलव तीन मेट्रिक टन कफी अर्ग्यानिक प्रमाणीकरण गरेर जापान, कोरिया, अस्ट्रेलिया, अमेरिकामा निर्यात भएको थियो । अस्ट्रेलियामा हिमालयन कफी अर्ग्यानिक भनेर जाने गरेको छ ।
संघका अनुसार ‘ए’ ग्रेडको ‘पार्चमेण्ट ग्रिनवीच’ कफी प्रतिकिलो साढे ९ अमेरिकी डलरमा कोरिया, ९ अमेरिकी डलरमा जापान र १० अमेरिकी डलरमा अमेरिका जाने गरेको छ ।
सन् २००८ मा जिल्ला कफी सहकारी संघ स्थापना भएदेखि जिल्लामा उत्पादित कफी विदेश निर्यात हुन थालेको हो । समुद्र सतहबाट ८०० मिटरभन्दा माथि हिउँ, तुसारो नपर्ने ठाउँसम्म लगाइएको कफी गुणस्तरीय मानिन्छ ।
यसैबीच एक वडा एक उत्पादन क्षेत्र कार्यक्रम अन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका-१० छनोट भएर कफी खेती कार्यक्रम सञ्चालन भइरहेको छ ।
बागमती प्रदेशको ६० प्रतिशत लगानी, चौतारा साँगाचोकगढी नगरपालिकाको २० प्रतिशत र लक्षित समूहको २० प्रतिशत लगानीमा कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन भइरहेको नगरपालिकाका सहायक प्राविधिक रामहरि दाहालले बताए ।
सो कार्यक्रम अन्तर्गत वडा नम्बर १० मा २७ हजार कफीका बिरुवा रोपिएको दाहालले जानकारी दिए । उनका अनुसार ३० हजार बिरुवा रोप्ने लक्ष्य भएपनि २७ हजार मात्रै रोप्न सकिएको हो । उक्त बिरुवा हुर्काउनका लागि जैविक विषादी बनाउने १०० वटा ड्रम पनि उनीहरूलाई वितरण गरिएको छ ।

कफी सुकाउने ५० थान त्रिपाल वितरण गरिएको उनको भनाई छ । त्यहाँ सिँचाइको लागि ४ वटा प्लास्टिक पोखरी र ३ वटा अन्य पोखरी निर्माण गरिएको उनले बताए ।
उक्त २७ हजार बिरुवामा सबै अरेविकाको बोर्बन र काटुरा जातको कफी लगाइएको छ । उक्त वडामा प्रत्येक गाउँमा एउटा कफी उत्पादक समूह बनाइएको छ ।
जसअनुसार चार वटा समूह र एउटा सहकारी आबद्ध छन् । उक्त वडाको ६ सय रोपनीमा कफी लगाइने लक्ष्य भएपनि हाल चार सय रोपनीमा कफी खेती गरिएको छ । बाँकी अर्को सालमा रोपिने थापाले बताइन् ।
कफी रोपेको तीन वर्षपछि फल दिन थाल्छ । सुरूको वर्षमा एउटा बोटमा करिब १ किलोको दरले फल्छ, चौथो वर्षमा २ देखि साढे २ किलो फल्ने र पाँचौँ वर्षदेखि करिब ५ किलोको दरले फल्ने सिन्धु कफी सहकारी संघकी अध्यक्ष मन्दु थापाले बताइन् ।
कफीलाई छहारीको व्यवस्था गर्ने, काँटछाँट गर्न आवश्यक छ । यसो गरेर फल्न थालेको १२/१५ वर्षपछि पुनर्जन्म दिए कम्तीमा ६०/७० वर्षसम्म फल दिने उनको भनाई छ । छहारीको लागि २५ सय फलफूलका बिरुवा रोपिएको छ । जसमध्ये सुन्तला, कागती र एभोकाडो रोपिएको छ । एउटा बिरुवा खरिद गर्न सरकारी मूल्य २७ रुपैयाँ छ तर नर्सरीहरूले प्रतिबिरुवा ३० देखि ३५ रुपैयाँ लिने गरेको थापाले बताइन् ।
चौतारा साँगाचोकगढी नगरपालिकामा करिब ३५ सय केजी कफी उत्पादन हुने गरेको छ । अहिले वडानम्बर १० मा लगाएको कफीले ५ वर्षपछि करिब थप डेढ लाख किलो कफी उत्पादन हुने उनले बताइन् । नगरभित्रका करिब ४ सय किसानले कफी खेती गरिरहेका छन् । सबैभन्दा बढी १० नम्बरमा कपी उत्पादन भइरहेको छ । कदमबासमा लगाएको एउटा बोट कफीमा ४०/४५ किलोसम्म फलेको विगत उनले सम्झिइन् ।
‘कफीको लागि हाम्रो पालिका उर्वरभूमि हो । त्यसैले अहिले कफी खेतीमा जोड दिएका छौँ’ चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले भने ‘कफी उत्पादन, प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्ने कुराले कफी किसानको जीवन माथि उठाउन मद्दत पुग्छ ।’ कफीका लागि बजारको समस्या नआउने बताए ।
‘कफीको उचित मूल्यको लागि वातावरण निर्माण गरेर योजनामा लाग्नुपर्ने बताए । कफी किसानहरूलाई नगरको तर्फबाट भरपुर सहयोग हुने उनले बताए । अन्य बाली लगाउँदा बाँदरले दुःख दिने गरेकाले पनि कफी खेतीमा किसानको आकर्षण बढेको बताए ।

Leave a Reply