काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले पहिलो पटक सुँगुरको भ्रूणमा मानव कोशिकायुक्त मुटुको विकास गर्न सफल भएका छन् । यस सफलतालाई चिकित्सा विज्ञानको क्षेत्रमा यो प्रगतिलाई ऐतिहासिक फड्को मानिएको छ । यदि यसरी मुटुको पूर्ण विकास गर्न सकियो भने अंगहरु ट्रान्सप्लान्ट गर्दा आइपर्ने मानव अंगको अभावहरूको परिपूर्ति गर्ने जनाइएको छ ।
चीनको ग्वान्झाओ इन्स्टिच्युट अफ बायोमेडिसिन एण्ड हेल्थका अनुसन्धानकर्ताहरुले सुँगुरको भ्रूणमा मानव स्टम सेल प्रत्यारोपण गरी मानव–सुँगुर भ्रूण मिश्रित भ्रूणको विकास गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
द टाइम्स युके र प्रतिष्ठित विज्ञान जर्नल नेचरमा प्रकाशित समाचार अनुसार ती भ्रूणहरूलाई २५ देखि ३० दिनसम्म प्रयोगशालामा हुर्काइएको थियो ।
अनुसन्धानमा संलग्न वैज्ञानिक डा. लाय लियाङ्सुए लाइका अनुसार ती भ्रूणमा विकसित भएको मुटुमा ६० प्रतिशतसम्म मानव कोशिका रहेको पुष्टि भएको हो ।
उनी ग्वानझाओ इन्स्टिच्युट अफ बायोमेडिसिन एण्ड हेल्थका तथा चाइना एकेडेमी अफ साइन्सेस का प्रमुख अनुसन्धानकर्ता हुन्। उनकै टोलीले मानव अंग प्रत्यारोपणको सन्दर्भमा ऐतिहासिक सफलता हासिल गरेको हो ।
अनुसन्धान टोलीका वैज्ञानिकहरूका अनुसार मानव–सुँगुरको मुटुको प्रारम्भिक संरचनाले धड्कनको गति समेत देखाएको थियो । यद्यपि ती संरचना पूर्ण विकसित अंग भने होइनन् । तर अनुसन्धानकर्ताले यसलाई मानव अंग उत्पादनको दिशामा ठूलो फड्को भएको बताएका छन् ।
यसै पनि अंग प्रत्यारोपणको सन्दर्भमा बिरामीले अंग नपाउनु विश्वव्यापी संकट हो । हरेक वर्ष लाखौं बिरामीहरू उपयुक्त अंग नपाएर मृत्युको मुखमा पुग्छन् ।
नेपालमै पनि अवैध रूपमा मिर्गौला बेचबिखन गर्ने गिरोहहरू पक्राउ परेका समाचार आइरहन्छन् । यस्तो विकराल अवस्थामा जनावरको शरीरमा मानव अंग हुर्काउने अवधारणाले भविष्यमा उपयुक्त मानव अंग उत्पादन गर्ने सम्भावना देखाएको छ ।
वैज्ञानिकहरूका अनुसार यस्तो प्रगतिले भविष्यमा जीन–सम्पादन र अंग–इन्जिनियरिङ प्रविधिहरूको सहायता लिँदै जनावरभित्र मानव–उपयुक्त अंग हुर्काउने सपना सम्भव हुने विश्वास गरिएको छ।
यद्यपि चिकित्सा क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खुले पनि यसले अनेकौँ नैतिक बहस समेत जन्माएको छ । मानव अंगहरु जनावरमा विकसित गर्दा जनावरले अनुभूत गर्ने पीडा र पशु अधिकारको जटिल मुद्दा पनि सँगसँगै उठेको छ ।

Leave a Reply