तिलोत्तमा नगरपालिकाले ल्यायो २ अर्ब ९२ करोडको बजेट, कुन क्षेत्रमा कति विनियोजन ? 

रुपन्देही । तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार दोस्रो नगर सभाको सातौँ अधिवेशनमा उपप्रमुख जलेश्वरदेवी चौधरीले २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।  यो चालु आर्थिक वर्षको भन्दा १६ करोड ३१ लाख ४९ हजारले ५ सय ८२ रुपैयाँले बढी हो । चालु आर्थिक वर्षको बजेट २ अर्ब ७६ करोड ६२ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

बजेटमा चालुतर्फ १ अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात् ४४ दशमलव १७ प्रतिशत र पुँजीगततर्फ १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ रुपैयाँ अर्थात् ५५ दशमलव ८३ प्रतिशत हुने अनुमान गरिएको छ ।  चौधरीले बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ३३ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैयाँ प्राप्त हुने लक्ष्य लिइएको उल्लेख गरिन् ।

तिलोत्तमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार प्राथमिकतामा राखेको छ । शिक्षामा सामुदायिक विद्यालयको शैक्षिक एवं भौतिक पूर्वाधार तथा शिक्षण सिकाइ उपलब्धिको लागि शैक्षिक सुधार वर्षको रूपमा घोषणा कार्यक्रमलाई सार्थकता तुल्याउन आवश्यक बजेटको प्रबन्ध गरेको उनले बताइन् । तिलोत्तमा शैक्षिक सुधार कार्यक्रम माध्यमिक विद्यालयमा डिजिटल स्मार्ट बोर्ड, विभिन्न सृजनशील कार्यक्रमहरू पढ्दै—कमाउँदै कार्यक्रम, टिनको छानो भएको विद्यालयलाई फल्ससिलिङ योजना बालमैत्री नगर, नवप्रवर्तन कार्यक्रमका लागि यथोचित बजेट व्यवस्था गरिएको छ ।

सामाजिक विकास क्षेत्रमा ९९ करोड ४२ लाख ५२ हजार ५ सय ८२ विनियोजन गरेको उल्लेख गर्दै चौधरीले स्वास्थ्यमा नगरबासीलाई सहज सुविधा उपलब्ध गराउन आनन्दवन नगर अस्पताल, सेमराबजार स्वास्थ्य चौकीलाई मातृ अस्पताल, वातानुकूलित खोप केन्द्र, अशक्त र विपन्नलाई स्वास्थ्य बिमा, गर्भवती पोषण कार्यक्रम लगायतका महत्त्वपूर्ण योजनाका लागि बजेट विनियोजन गरेको जनाइन् ।

त्यस्तै, आर्थिक विकास क्षेत्रमा ६ करोड १९ लाख ५० हजार विनियोजन भएकामा कृषिमा आत्मनिर्भर नगरपालिका बनाउन सामूहिक खेती, चक्लाबन्दी खेती, चैते धानलाई प्रोत्साहन कार्यक्रम, पकेट क्षेत्र विकास कार्यक्रम, कृषि उद्यम र उद्यमीलाई यान्त्रीकरण र व्यावसायिकीकरण गर्नका लागि प्रविधि हस्तान्तरणका लागि बजेटको प्रबन्ध गरिएको छ । दूधमा दिइँदै आएको प्रतिलिटर २ रुपैयाँ अनुदानका लागि रु ७० लाख विनियोजन गरिएको उपप्रमुख चौधरीले बताइन् ।

युवामैत्री स्थानीय शासन घोषणा तथा विभिन्न विधाका खेलकुद आयोजना गर्न र खेलकुद पूर्वाधार निर्माण लगायतका लागि आवश्यक बजेट विनियोजन गरेको र खेलाडीका लागि जोखिम बिमाबापतको रकम प्रदान गर्नसमेत बजेट छुट्याएको उनले बताइन् ।

बजेटमा सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ५१ करोड ७३ लाख ५८ हजार विनियोजन भएको उल्लेख छ । साथै नगर क्षेत्रभित्रका आकस्मिक भैपरी आउने अत्यावश्यक भौतिक पूर्वाधार विकास र अन्य विकाससम्बन्धी कार्यका लागि आकस्मिक पूर्वाधार कोषबाट सम्बोधन गर्न आवश्यक बजेट प्रस्ताव गरेको उनले बताइन् । भौतिक पूर्वाधारतर्फ, वातावरण तथा विपद् व्यवस्थापनका लागि तिलोत्तमा सूचना केन्द्र आपतकालीन कार्य सञ्चालन केन्द्रलाई प्रविधिमैत्री, आधुनिकीकरण गर्न आवश्यक प्रबन्ध गरेको चौधरीले बताइन् ।

प्रस्तुत बजेट तथा आर्थिक ऐनको दफावार छलफलका लागि असार २० मा बैठक बस्ने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *