कैलाली । धनगढी उपमहानगरपालिका-२ स्थित बैयाबेहडीमा मृत भेटिएकी युवतीको कोठामा प्रहरीले धारिलो हतियासमेत बरामद गरेको छ । डेरामा बस्दै आएकी कञ्चनपुर पुनर्वास नगरपालिका–११ की रेनुका चौधरी सोमबार बिहान मृत भेटिएकी थिइन् ।
प्रहरीका अनुसार उनको शव गन्ध आउन थालिसकेको अवस्थामा झ्यालबाट देखिएको थियो । घरधनीले प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेको टोलीले बाहिरबाट ताला लागेको कोठा खोली शवको अवस्था जाँच गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजकुमार सिंहले चौधरीको घाँटीमा धारिलो हतियारले प्रहार गरिएको र कन्चटमा पनि चोट देखिएको जानकारी दिए । प्रारम्भिक अनुसन्धानअनुसार हत्या भएको प्रहरीले जनाएको छ । उनले कोठामा चक्कु बरामद भएको भन्दै थप अनुसन्धान भइरहेको बताए ।
‘घाँटीमा धारिलो हतियारले प्रहार गरिएको जस्तो देखिएको छ र कन्चटमा पनि चोट छ’, उनले भने, ‘शवको अवस्था र कोठामा भेटिएको चक्कुले पनि उनको हत्या गरिएको हुनसक्ने देखिन्छ ।’ शवको पोस्टमार्टम पनि भएको भन्दै रिपोर्ट पछि केही थाहा हुने उनले बताए ।
चौधरी खानेपानी संस्थान धनगढीमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिइन् । उनी बिहीबार उपमहानगरपालिकाले आयोजना गरेको पानीको गुणस्तरसम्बन्धी तालिममा सहभागी भएकी थिइन् तर त्यसपछि सम्पर्कमा थिइनन्। शुक्रबारकै आसपासमा घटना भएको प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनालाई संवेदनशील मानेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।
शव भेटिएलगत्तै तालिम प्राप्त कुकुरको सहयोगमा पनि प्रहरीले अनुसन्धान गरेको थियो । त्यसबाट पनि अनुसन्धानमा सहज हुने दाबी गरिएको छ । युवतीको मोबाइल पनि प्रहरीले बरामद गरेको छ । यसबाट पनि केही पत्ता लाग्ने अपेक्षा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नर सिंह रानाले घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको भन्दै केहीदिन भित्रै सत्य तथ्य सार्वजनिक हुने बताए ।
‘हामीले विभिन्न ढङ्गबाट अनुसन्धान गरिरहेका छौँ । अहिले शङ्कास्पद व्यक्तिहरूको खोजी जारी छ’ उनले भने ‘ढुक्क हुनुहोस् घटना कहिले र कसरी भएको र यसमा को को संलग्न छन् चाँडै पक्राउ हुन्छन् ।’

Leave a Reply