काठमाडौं । एकै दिन अभिनेता अनमोल केसीको भागमा तनाव र खुसी आइलागेको छ । आजै मात्र अनमोल विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा पर्यो । अनि आज नै उनी ‘ए मेरो हजुर ५’ मा अनुबन्ध पनि भए ।
सबैभन्दा पहिला अनमोल विरुद्ध दायर भएको मुद्दाको कुरा गरौं । केगी दिनयता गत वर्ष जेठ १० मा प्रदर्शन भएको चलचित्र ‘फर्की फर्की’ को एक क्लिप भाइरल भइरहेछ ।
उक्त क्लिपमा अनमोल र अभिनेत्री जसिता गुरूङबीचको संवाद छ । उक्त संवादमा अनमोलले एउटा मोबाइल नम्बर दिन्छन् । उक्त नम्बर अस्तित्वमै छैन भन्ठानेर निर्देशक सुयोग गुरुङले चलचित्रमा राखेका थिए ।
तर उक्त नम्बर साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठको पर्यो । चलचित्र एमएसएम भिडियो प्ल्याटफर्ममा सार्वजनिक भएपछि उमेरले सात दशक हिर्काइसकेका श्रेष्ठको फोन तारन्तार बज्न थाल्यो । अनमोलको फोन भन्ठानेर उनलाई मध्यराति समेत फोन आउन थाल्यो ।
यस्तो फोनले आफ्नो मानसिक अवस्था र सामाजिक जीवनमै असर गरेपछि चलचित्रको टिमलाई गुहारे । निर्देशक सुयोगले नम्बर हटाउने आश्वासन पनि दिए । तर नहटाएको श्रेष्ठको गुनासो छ ।
यसपछि उनले चलचित्र विकास बोर्ड गुहारे । विकास बोर्डको अध्यक्ष अनमोलको पिता भुवन केसी नै थिए । तर उनले पनि गम्भीर रूपमा लिएनन् । यसपछि भने श्रेष्ठले काठमाडौं अदालत गुहारे ।
अदालतमा श्रेष्ठले अनमोल, निर्देशक सुयोग, निर्माता रोहित अधिकारी र चलचित्र जाँच पास समितिलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका छन् । यस विषयमा निर्माता अधिकारीलाई बुझ्दा उनले चलचित्रबाट हटाइसकेको बताए ।
यद्यपि मुद्दा नै दायर भइसकेपछि यस मामलाको छिनोफानो अदालतबाटै हुनेछ । त्यसका लागि अभिनेता अनमोलले समेत अदालतको तारिख धाउनु पर्नेछ । निर्माण टिमको सानो गल्तीका कारण अदालत धाउनु परेपछि अनमोललाई तनाब हुने नै भयो ।
अदालतको तारिख धाउनुपर्ने तनावका बीच आजै अनमोललाई खुसी पनि मिलेको छ । उनी चलचित्र ‘ए मेरो हजुर ५’ मा अनुबन्ध भएका छन् । यस चलचित्रमा अनमोलले सुहाना थापासँग जोडी बाँध्नेछन् । ‘ए मेरो हजुर ४’ मा पनि अनमोलले सुहानासँग जोडी बाँधेका थिए ।
नयाँ चलचित्रमा अनुबन्ध भएपछि अनमोलले सामाजिक संजालमा एक स्टाटस लेख्दै लामो समयको विश्रामपश्चात् नयाँ अध्यायको सुरुवात गरेको बताएका छन् ।
उनले लेखेका छन्, ‘जेरी अन टप’, ‘बाटुलो जुन’ र ‘ए मेरो हजुर – ५’ मार्फत् नेपाली चलचित्र उधोगमा नयाँ जोशका साथ हजुरहरूमाझ उपस्थित हुन लागेको यो खुशीको कुरा सुनाउन पाउँदा म निकै उत्साहित र हर्षित छु ।’
साथै आजसम्मको यात्रामा साथ, सहयोग, माया, हौसला, प्रेरणा र सुभेच्छा दिने सबैप्रति कृतज्ञ भएको बताएका छन् । ‘जेरी अन टप’ चलचित्र ‘जेरी’को सिक्वेल हो भने ‘बाटुलो जून’ अनमोलको होम प्रोडक्सनको चलचित्र हो ।

Leave a Reply