काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकी अमला रोकालाई २ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश बलराम लम्सालको एकल इजलासले थुनछेक बहसपछि सोमबार उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले गत शुक्रबार रोकालाई टोखाबाट पक्राउ गरेर ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो । उक्त बहस नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार बहस सकिए लगत्तै उनलाई २ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।
राजस्व अनुसन्धान विभागले २०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । उक्त मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले अमला सहित २९ जनाविरुद्ध मुद्दा दायर गरेकोमा त्यस यता उनी फरार रहेकी थिईन । अमला सुन तस्करी प्रकरणमा पक्राउ परी हाल थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् ।

Leave a Reply