माओवादी सांसदको प्रश्नः संघीय निजामती सेवा विधेयक कहिले पारित हुन्छ ?

काठमाडौं । संसदीय समितिबाट सर्वसम्मत पारित भएर पनि प्रतिनिधि सभामा पेश भइसकेको संघीय निजमती सेवा विधेयक रोकिएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसदले सोमबारको बैठकमा प्रश्नको वर्षा गरेका छन् ।

विनियोजन विधेयकमाथीको छलफलमा भाग लिने क्रममा माओवादी सांसदले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रश्नको वर्षा गरेका हुन् ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेदेखि लिएर पूर्व सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ हुदैँ कानून, न्याय तथा मानव अधिकार समितिमा सभापति समेत रहेका सांसद बिमला सुवेदीले सामान्य प्रशासनमन्त्री गुप्तालाई कार्यसूचीमा किन हटाइएकोदेखि कुलिङ पिरियड हटाउन खोजिएको हो भन्दै प्रश्न गरेका छन् ।

सबैभन्दा सुरमा पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले प्रतिनिधि सभामा पेश भइसकेको संघीय निजामती विधेयक किन कार्यसूचीबाट हटाइएको हो भन्दै प्रश्न गरे । उनले संसदीय समितिले पारित गरिसकेको कुलिङ पिरियडको व्यवस्था कर्मचारीले रोक्न मिल्छ भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, ‘संघीय निजामती सेवा विधेयक संसदमा टेबल भइसकेको किन कार्यसूचीबाट हटाएको ? र भन्छन् कि हटाउनुको कारण दुई वर्षे कुलङ पिरियड राखेको कारणले हो, के यो साँचो हो ? यदि साँचो हो भने सार्वभौम संसदले गरेको राज्य व्यवस्था समितिले अर्थात संसदले टुंगो लगाइसकेको विषयलाई केही कर्मचारीले रोक्न मिल्छ ?’

लगत्तै माओवादी सांसद माधव सापकोटा ‘सुवोध’ले कलिङ पिरियड राखिएकै कारण विधेयक पारित गर्नबाट रोकिएको भन्दै यथार्त कुरा जानकारी गराउन सामान्य प्रशासनमन्त्रीलाई आग्रह गरे । उनले भने, ‘संघीय निजामती सेवा ऐन कुलिंग अफ द पिरियडका कारण यो पेन्डिङ भयो भन्ने छ । यसको यथार्थ जानकारी पाउ र संघीय संसदसँग माननीय मन्त्री ज्युले के समन्वय गरिराख्नु भएको छ भनेर जिज्ञासा राख्न चाहन्छु ।’

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पनि संघीय निजमती सेवा विधेयक किन कार्यसूचीबाट हटाइएको हो कहिले पेश हुन्छ भन्दै प्रश्न गरे । उनले भने, ‘केही दिन अघि संघीय निजामती सेवा ऐन संसदमा पेश गर्ने भनेर किन कार्यसूचीमा राखियो र के भनेर चाहिँ कार्यसूची सूचीबाट हटाइयो र यो संघीय निजामती सेवा ऐन कहिले पेश गर्ने हो ? यसको स्पष्ट जवाफ चाहियो ।’

कानून, न्याय तथा मानव अधिकार समितिका सभापति समेत रहेका माओवादी सांसद बिमला सुबेदीले पनि किन विधेयक पारित हुन नसकेको हो र कहिले पारित हुन्छ भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘माननीय मन्त्री ज्यु यो अहिले जुन संघीयतासँग सम्बन्धित विधेयक संघीय निजामती सेवा विधेयक चाहिँ किन संसदमा पारित भइरहेको छैन र यो कहिले पारित हुन्छ म माननीय मन्त्री ज्युलाई प्रश्न गर्न चाहन्छु ।’

संघीय निजामती सेवा विधेयकमाथी छलफल गरेर पारित गरेको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य समेत रहेका माओवादी सांसद दुर्गा राईले समितिबाट सर्वसम्मत पारित भएको विधेयक किन कार्यतालिकाबाट हटाइएको हो र कति लभिङ गर्दै हुनुहुन्छ भन्दै प्रश्न गरिन् ।

उनले भनिन्, ‘हामीले समितिबाट सर्वसम्मतले यहाँसम्म ल्याएर प्रस्तुत गरेको संघीय निजामती विधेयक किन यहाँ पारित गर्ने कार्यतालिकाबाट हटाइन्छ ? माननीय मन्त्री ज्युलाई हामीले जहिले पनि भन्थ्यौ, सम्बन्धित विषयमा विधेयकमाथि छलफल हुदा खेरि यही कारणले हो हामीले सम्बन्धित मन्त्री ज्युको चाहिँ उपस्थिति अनिवार्य छ भनेको । त्यसैले माननीय मन्त्री ज्युले कति लभिङ गर्दै हुनुहुन्छ ?’

विधेयकमाथीको छलफलमा कडा रुपमा प्रस्तुत हुने गरेकी सांसद राईले मन्त्री सफल हुने र नहुने विषय समेत यो विधेयकलाई लिएर मुल्यांकन हुने पनि बताईन । उनले भनिन्, ‘यदि यस्तो हामीले समितिबाट पास गर्छौ यो तपाईको यो चाहिँ जिम्मा भित्र पर्छ । यहाँ ल्याउनु नलैजानु भन्ने कुरा चाहिँ तपाई कति सफल मन्त्री हो कति असफल मन्त्री हो भन्ने विषयले पनि विषय पनि यसमा उठ्न सक्छ । त्यसैले मन्त्री ज्युलाई मैले सोध्न चाहन्छु, कहिले कुन दिनको कार्यतालिकामा चाहिँ यो ल्याउनुहुन्छ र हामीले पास गर्ने दिनलाई तालिका पाउन सक्छौ ।’

राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य समेत रहेका माओवादीका प्रमुख सचेत हितराज पाण्डेले कार्यसूचीबाट किन हटाइयो र अब कहिले सदनमा पेश हुन्छ भन्दै प्रश्न गरे ।

उनले भने, ‘हामीले यो संसदमा आएको असारको ३ गते परेको कार्यसूचीबाट किन हटाउनु पर्यो हामीले संसद कार्यालयसँग सोध्दा मन्त्री ज्यु नआएको कारणले भनिएको छ । यसको बारेमा पनि संघीय निजामती सेवाको जो विधेयक छ, त्यो कहिले पारित हुने हो यहाँको कहिले समय हुन्छ यो सदनमा आउने यो जिज्ञासा राख्न चाहन्छु ।’

माओवादी सांसद नारायणी शर्माले भने संघीय निजामती सेवा विधेयक कुलिङ पिरियडको विषयलाई लिएर रोकिको सुन्नमा आएको भन्दै बास्तविकता के हो भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘संघीय निजामती सेवा ऐन दुई वर्षे कुलङ पिरियडको कारण रोकिएको छ भन्ने सुन्न आएको छ । के यो वास्तविक हो ? यदि होइन भने यो सदनमा कहिले पेश हुन्छ र कहिले पास गर्न पाउछौ यो जवाफ सोध्न चाहन्छु ।’

अर्का माओवादी सांसद ज्ञानु बस्नेतले पनि संघीय निजामती सेवा विधेयक कार्यसूचीमा रोखर फिर्ता लिनुको कारण के हो र अब कहिल कार्यसूचीमा राखिन्छ भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘माननीय मन्त्री ज्यु यो संघीय निजामती सेवा विधेयक संसदबाट फिर्ता लिनु परेको अवस्था राख्नु भयो । यो किन फिर्ता लिनु पर्यो र अहिले फेरी कार्यसूचीमा आइसकेको निजामती सेवा विधेयक जसरी कार्यसूचीबाट हटाएको छ र यो कार्यसूचीमा कहिले राखिन्छ ।’

सदन अबरुद्धका कारण कार्यसूचीबाट हटाइएको हो, फुलस्टप कमा पनि परिवर्तन हुँदैनः मन्त्री

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले यस अघि कार्यसूचीमा राखिएको दिनमा सदन अवरोध भएका कारण कार्यसूचीबाट हटाइएको स्पष्ट पारे ।

उनले भने, ‘त्यो दिनको अवस्था सदनको त्यति राम्रो थिएन । समितिबाट सर्वसम्मत पास गरेर ल्याएको विधेयक र सदनमा आन्दोलन भइराखेको अवस्था पनि थियो । त्यसलाई मध्यनजर गर्दै आजका लागि यसलाई हटाउ । दुई चार दिनपछि यसलाई फेरि कार्यसूचीमा ल्याउला भनेर हटाइएको हो । त्यो दिन कार्यसूचीमा परेको दिन मैले समय पुरै दिन्न । माननीय ज्यूले उठाउनु भएको कुरो सही हो । त्यो दिन कार्यसूचीबाट हटेको छलफल भएर मेरो एउटा अत्यन्त महत्वपूर्ण काम मन्त्रालयको थियो । त्यसै कारण मैले आफ्ना सचेतक ज्यूसँग अनुमति लिएर गएको हो ।’

सामान्य प्रशासनमन्त्री गुप्ताले बिधेकयमा पुलस्टम र कमा समेत परिवर्तन नहुने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘संघीय निजामती ऐन जुन राज्य व्यवस्था समितिबाट र उपसमितिबाट हुदै सर्वसम्मत रुपले पास भएर आएर सदनमा टेबुल भएको छ । यो संघीय निजामती ऐनमा कुलिंग पिरियड हैन, त्यसमा फुल स्टप र कमा पनि चेन्ज हुदैन । यति म सभामुख महोदयमार्फत माननीय ज्यूलाई भन्न चाहन्छु ।’

Comments

2 responses to “माओवादी सांसदको प्रश्नः संघीय निजामती सेवा विधेयक कहिले पारित हुन्छ ?”

  1. ksp pyl Avatar
    ksp pyl

    परिवर्तन केही त हुदैन । तर रोकेर कुलिङ् पेरियड हटाईदिन्छु भनेर सचिवहरूसँग दाम खाईरहेका त छैनौ तिमीहरूले ? निजामति विधेयक पास गर्ने भन्दा ठूलो काम सामान्य प्रशासन मन्त्रीको अरू हुनै सक्दैन । विधेयक पास गर्ने दिन संसदबाट किन भागेको ? सचिवहरूसँग दाम उठाउन हिडेको ? होईन भने त्यो दिन पास भईसक्थ्यो त । ठूला कुरा गर्ने भ्रष्टाचारीहरू ? यो मामिलामा बरू काँग्रेस माओवादी नै ठिक देखिए ।

  2. Rakesh raju Avatar
    Rakesh raju

    Kina tauko dukhako hola, nijamati bidyan aaunda jhan, problems aaunxa.

Leave a Reply

Your email address will not be published. Required fields are marked *