काठमाडौं । ‘दुश्मन हेरेको हेर्यै’ गीतले सय मिलियन (१० करोड) भ्युज प्राप्त गरेपछि गायक तथा मोडल दुर्गेश थापा खुसीले गदगद छन् । गीत युट्युबमा सार्वजनिक गरेको पाँच महिनामै सय मिलियनको दुर्लभ आँकडा पार गर्दै गर्दा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत बधाई दिएपछि डबल खुसी मिलेको थापाले बताए ।
उनले नेपाल प्रेसलाई भने, ‘देशको अभिभावक जस्तो सम्मानित व्यक्तिले त्यसरी मेरो सृजनालाई बधाइ दिनु धेरै खुसीको कुरा हो । उहाँको बधाईले हामीले गीत निर्माण गर्दाताका गरेको मिहेनतको कदर भएको छ । हुन त नेपाली दाजुभाइ दिदिबहिनीले १० करोडपटक हेरिदिनुभएर मलाई पहिल्यै पुरस्कृत गरिसक्नुभएको छ । यस्तो माहौलमा प्रधानमन्त्रीको समेत बधाई आउँदा को खुसी हुँदैन होला र !’
कुराकानीकै क्रममा थापाले प्रधानमन्त्री ओलीसँगको भेटको सन्दर्भ पनि सम्झिए । ओली र थापा काठमाडौंबाट जनकपुर जाँदा एउटै फ्लाइटमा परेका रहेछन् । साथै थापाले ओलीसँग फोटोसमेत खिचेका रहेछन् । उक्त भेट सम्झिँदै उनले भने, ‘त्यसबेला मैले फोटो पनि खिचेको थिएँ उहाँसँग । त्यो नै उहाँसँगको मेरो पहिलो हो ।’
अनि फेरि भेट्न मन छ कि छैन त ? भन्ने प्रश्नमा थापाले भने, ‘किन नहुनु ? देशको अभिभावकजस्तो मान्छेले बोलाउनुभयो भने भेट्नलाई म आतुर छु ।’
प्रधानमन्त्रीले थापालाई बधाई दिएपछि प्रधानमन्त्रीकै सांगीतिक चेतमाथि संजालमा प्रश्न तेर्स्याउनेहरु थुप्रो छन् । कतिपय संगीतकर्मीहरुले प्रधानमन्त्रीलाई नै उडाउँदै बग्रेल्ती स्टाटसहरु लेखिरहेका छन् । उनीहरुलाई के भन्नुहुन्छ त ? भन्ने प्रश्नमा थापाले थपे, ‘मन पराउने र माया गर्नेहरु त शुभचिन्तक नै भए । अब ममाथि आफ्नो कुण्ठा पोख्ने निन्दकहरुलाई त ‘दुश्मन छ धेरै, दुश्मन हेरेको हेर्यै’ भन्न चाहन्छु ।’
साथै प्रधानमन्त्री ओलीलाई सुभेच्छा पनि प्रकट गरे । ‘तपाईंको दुश्मनहरु पनि हेरेको हेरै होउन् ।’
प्रधानमन्त्री ओली कस्तो खालको नेता हो त ? भन्ने प्रश्नमा चाहिँ थापाले घुमाउरो उत्तर दिए, ‘देशमा पक्ष र विपक्षमा मान्छेहरु लाग्छन् । यो देशमा जसले राम्रो काम गर्छ, म त उसकै पक्षमा हो । उहाँ राम्रै नेता हो, मलाई मन पर्छ ।’
हामीले थप प्रश्न सोध्यौं, ‘अहिलेको सरकारले कस्तो काम गरिरहेको छ त ?’
थापाले छोटोमीठो जवाफ दिए, ‘समग्रमा राम्रो काम गरिरहेको छ ।’
हिजो साँझ प्रधानमन्त्री ओलीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै थापालाई बधाइ दिएका थिए । उनले लेखेका थिए, ‘आजको नयाँ पिढीले बेग्लै स्वादका गीतरसंगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्र्य’ गीतको भ्युवरबाट थाहा हुँछ । सय मिलियन भ्युज पुगेको उपलक्षमा गीतका सर्जक दुगेश थापालाई बधाई ।’
थापाकै शब्द, संगीत रहेको यस गीतमा आनन्द कार्की, एलिना चौहान र समीक्षा अधिकारीको समेत स्वर छ भने म्युजिक भिडियोमा प्रियंका कार्की र कविता नेपालीले उनलाई साथ दिएका छन् ।
यसअघि ‘कुटुमा कुटु सुपारी दाना’, ‘साली मन पर्यो’, ‘रुकुम मैकोट’, ‘अरेली काँडैले’ जस्ता केही गीतहरुले सय मिलियनको दुर्लभ आँकडा पार गरेका छन् ।

Leave a Reply