काठमाडौं । गत वर्षको जेठ १० गते प्रदर्शनमा आएको चलचित्र ‘फर्की फर्की’ले अनुमतिविना आफ्नो असली नम्बर चलचित्रमा प्रयोग गरेको भन्दै साहित्यकार नरेन्द्रकुमार श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । अनमोल केसी अभिनीत यस चलचित्रमा आफ्नो नम्बर अनुमतिबिना प्रयोग भएपछि श्रेष्ठले मुद्दा दायर गरेका हुन् ।
आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र एमएसएम ओटीटी प्ल्याटर्फममा पनि मोबाइल नम्बर नहटाइएकोले आफूलाई मानसिक र शारीरिक रुपमा नै हानी पुगेको भन्दै उनले मुद्दा दायर गरेका हुन् ।
चलचित्रको एउटा संवादमा अनमोलले अभिनेत्री जसितालाई नम्बर दिने क्रममा दिएको नम्बर श्रेष्ठको परेपछि उनी अदालतको ढोका ढकढकाउन पुगेका हुन् ।
यस विषयमा बुझ्न खोज्दा निर्माता रोहित अधिकारीले भने, ‘निर्देशकले कोसिस गर्दा यो नम्बरमा फोन लागेनछ । नम्बर डेड भइसकेको ठानेर चलचित्रमा प्रयोग गरेछ । पछि त्यो नम्बर उहाँ (श्रेष्ठ)को निस्कियो ।’
पछि नम्बर हटाए पछि एमएसएम भिडियोमा यही नम्बर नहटाएको फाइल गएपछि समस्या भएको अधिकारीले बताए । नम्बर हटाउनु भनेर चलचित्र विकास बोर्डले पनि पत्र काटेको अधिकारीले बताए । साथै साहित्यकार श्रेष्ठको घरमै गएर माफी समेत मागेको पनि उनले बताए । तर, सबै सल्टिसक्दा पनि किन मुद्दा दायर गर्नुभयो, आफू अचम्ममा परेको अधिकारीले बताए ।
अहिले एमएसएम भिडियोबाट पनि श्रेष्ठको नम्बर भएको फाइल नै उडाएर नयाँ फाइला राखिएको अधिकारीले बताए ।
श्रेष्ठले अभिनेता केसी, निर्देशक सुयोग गुरुङ, केन्द्रीय जाँच पास समिति, निर्माता अधिकारीलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका छन् ।

Leave a Reply