कैलाली । कैलालीका मृत अवस्थामा भेटिएकी किशोरीको हत्या गरिएको हुनसक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान केन्द्रित गरेको जनाएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीस्थित एउटा बन्द कोठामा बिहान किशोरी मृत अवस्थामा फेला परेकी थिइन् । बिहान स्थानीयले गन्ध आएको भन्दै खबर गरेपछि कोठा खोली हेर्दा ३० बर्सिया रेणु चौधरीको शव सडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहले जानकारी दिए।
चौधरी कञ्चनपुरको पुनर्वास नगरपालिका-११, अमरबस्तीकी हुन्। कोठा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा भित्र शव भेटिएपछि प्रहरीले प्रारम्भिक रूपमा हत्या गरिएको हुनसक्ने आशङ्का गरेको छ । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर प्रयोग गरिएको उनले जानकारी दिए ।
‘बाहिरबाट कोठामा ताल्चा लागेको अवस्था र शवको स्थितिले हत्या भएको शङ्का गर्न सकिन्छ,’ डिएसपी सिंहले भने, ‘हामीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान सुरु गरेका छौँ।’
उनका अनुसार घटनास्थलमा फरेन्सिक टोलीसमेत पुगिसकेको छ । शवको अवस्था हेर्दा केही दिन पहिलेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी स्रोतका अनुसार शवमा केही घाउ चोट पनि देखिएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply