इजरायलको बंकरभित्रबाट बकपत्र- बमको सिरानी र बारुदको ओछ्यानमा पो छु कि !

छिनछिनमै कानमा गुन्जिने बमको धमाका, साइरनको कर्कश आवाज, अनि बंकरतिर लुक्नुपर्ने । नियमित आकस्मिकता भनेजस्तो आज इजरायलमा हाम्रो जीवन यसरी चलिरहेको छ ।

‘सुन्दर , शान्त र विशाल मेरो देश नेपाल’ भनेर हामी पढ्दै हुर्कियो । कक्षा चढ्दै, उमेर बढ्दै जाँदा देश सुन्दर त छ नै, शान्त बन्न सकेन र विशाल होइन भन्ने लाग्दै गयो ।

१० वर्षको सशस्त्र द्वन्द्वकालमा एकाध गोली र बमको आवाज पनि सुनियो । त्यसबेला कतै बम पड्किएको सुन्दा मुटु नै काँप्थ्यो । डर थियो, भय थियो ।

मलाई जन्मिएर हुर्किएर आफ्नै कर्म गरिराख्दासम्म मेरो देश कहिल्यै शान्त लागेन । पछिल्लो पटक पनि विभिन्न आन्दोलनले हिंसाको रूपमा लिइराखेको नै छ । युद्ध, पटक–पटकको आन्दोलन, झडप यी सबै सञ्चार कर्म गरिराख्दा झनै नजिकबाट देख्न पाइयो ।

ओहो, ‘कहिले होला शान्त मेरो देश’ भन्ने सोच्दासोच्दै समयले विदेश पुर्‍यायो । विदेश पनि त्यहाँ पुर्‍यायो, जहाँ हरेक दिन बम पड्किन्छ ,साइरन मिनेट मिनेटमा बज्छ, अनि ज्यान जोगाउन मिनेट भर मै बङ्कर छिर्नुपर्छ ।

इजरायल मध्यपूर्वको एउटा विकसित देश । जहाँ हजारौँ नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् । म केही वर्षयता यही देशलाई आफ्नो कर्मभूमि बनाइरहेकी छु । राम्रो कमाई र कामका कारण धेरै नेपाली हिब्रु भाषा रटेर यहाँ काम गर्न आइपुग्छन् । सुरु सुरुका दिनमा खासै युद्ध र बम बारुदको अनुभव भएन ।

इजरायलको प्रतिरक्षा प्रणालीका कारण सामान्य बमबारी हुँदा मोबाइलमा सूचना आउनेबाहेक अरू थाहा भएन । तर पहिलो अनुभव हमास र इजरायलबीचको युद्धले मलाई तर्सायो । काम गर्दा गर्दै साइरन बज्ने र बजेको केही क्षणमै बंकर भित्र कुद्नुपर्ने ।

त्यस समय सीमावर्ती क्षेत्रमा रहेका नेपाली बढी जोखिम र त्रासमा रहे । म काम गर्ने ठाउँमा त्यति ठूलो क्षति त भएन, तर एकाध ठाउँमा बम खस्यो । जति समय युद्ध चल्यो, त्यति समय निन्द्रा परेन । कति वेला दौडिनुपर्छ वा हिँड्दा हिँड्दै बम खस्छ भन्ने त्रास मनमा उत्तिकै रह्यो ।

सानै हुँदा भरुवा बन्दुक, राइफलजस्ता हतियारको नाम सुन्दा डराउने म अहिले मिसाइल आक्रमणको अनुभव लिइराखेकी छु । यो सबै समयको खेल न रहेछ । जे पर्छ, त्यो टर्छ भनिन्छ नि, हो आजसम्म टर्दै आएको छ । थाहा छैन, युद्धको यो त्रासदीबीच रुमल्लिएको आतंकपूर्ण दैनिकीले कहिले विश्राम पाउँछ ? युद्ध हो, मर्ने–बाँच्ने कुरा आफ्नो बसमा हुँदैन । यसो भन्दा म छिनछिनमा देश सम्झिरहेकी हुन्छु । आमा, बुबा, दिदी, बहिनी, दाजु, भाइदेखि साथीसंगी सबै छिनछिनमा स्मृति पटलमा उपस्थित हुन्छन् ।

भक्कानिन्छु, निसासिन्छु, फेरि साइरन बज्छ, बम पड्किन्छ र ज्यानको मायाले हस्याङफस्याङ गर्दै बंकरतिर दौडिन्छु । बंकर सुरक्षित त हुन्छ, तर मनले त्यसो भन्दैन । बंकरभित्रै पनि म बमको सिरानी र बारुदको ओछ्यानमा छु जस्तो लाग्छ । म मात्र हैन, इजरायलवासी प्रत्येक नागरिकले भोगेको वास्तविकता हो यो ।

यहाँ आइसकेपछि पहिलो पटकको युद्धले मलाई जति कमजोर र त्रस्त बनायो, त्यो भन्दा बढी नेपालमा बस्ने मेरो परिवारका बूढा भइसकेका बा–आमालाई बनायो । उहाँहरूको त्यो चिन्ता म कल्पना मात्रै गर्न सक्छु । मानौँ, म आमा हुन्थेँ भने यस्तो त्रासदीबीच गुज्रिएको सन्तानको पिरले कसरी बाँच्न सक्थेँ होला र ?
आधा घण्टामात्रै फोनभन्दा पर बस्दा दर्जनौँ म्यासेज र म्यासेन्जर कल आइसकेका हुन्थे ।

सात समुन्द्र पारी आफ्नो सन्तान त्यसमाथि चलेको युद्ध र आइरहने समाचारले कुन बाबु आमाको मन शान्त रहोस् पनि । म भित्र–भित्र त्रास र मन कमजोर बनाइरहेर चलेको दैनिकीलाई लुकाएर बुबा आमाको अगाडि हाँस्दै, मुस्कुराउनुपर्ने बाध्यता र पीडा शब्दमा कसरी लेख्न सकिएला र ? नेपाली अपहरण पर्नु, दैनिक हत्याका समाचार आउनु, त्यो पल साँच्चिकै कठिन थियो ।

हुन त अनुभव र अवस्थाले पनि होला । त्यो युद्धको अनुभवपछि अहिले मलाई केही सहज लागेको छ । तर पनि, मन हो, डरलाई रोक्न कहाँ सकिन्छ र ? यति बेला इरान र इजरायल दुवै युद्धमा छन् । भन्ने नै हो भने अघिल्लो पटक भन्दा यो युद्ध अझ भयानक हुनसक्छ । आक्रमण र बमबारीका हिसाबमा अघिल्लो पटक भन्दा यस पटक अझ त्रासदपूर्ण छ । के हुन्छ भन्न सकिने अवस्था छैन । युद्ध यही गतिमा अगाडि बढ्छ वा अझ भयानक हुन्छ, त्यो पनि थाहा छैन ।

मिनेट मिनेटमा बज्ने ठूलो आवाजको साइरनले चाहिँ मानसिक रूपमा कमजोर बनाउने रहेछ । एक सुरले काम गरिराख्दा होस् वा रातमा निदाइराख्दा झ्याप्प साइरन बजेपछि दौडिहाल्नु पर्‍यो । बंकर छिरिहाल्नु पर्‍यो । म बस्ने ठाउँ र काम गर्ने ठाउँमा जान आउन बसको व्यवस्था छ । र पनि, यात्रामै केही भइहाल्छ की भन्ने डर चाहिँ जति नै मनोबल उच्च बनाउँदा पनि हुँदो रहेछ ।

हिजो मात्रै अमेरिकाले इरान आक्रमणपछि अझ डरलाग्दो अवस्था हुने सम्भावना देखिरहेको छु । आज बिहान मात्रै एक एजकेयर अस्पताल नजिक आक्रमण भयो । आक्रमणले अस्पतालमा क्षति पुग्यो ।

त्यहाँ रहेका मध्य २३ जना बिरामीहरूलाई मैले काम गरिराखेको एकयर सेन्टरमा ल्याइसकिएको छ र अहिले अझ बढी व्यस्त छु ।

यति लेख्न सक्छु वा सक्दिनँ भन्ने अन्योलमा थिएँ । बमको आवाज, कहाँ, कति बेला बंकर जानुपर्ने हो भन्ने अवस्था । न दिन, न रात । जतिबेला जे पनि हुन सक्ने परिस्थितिमा मन शान्त कसरी हुन्छ र ? लेख्न कसरी सकियोस् ? तैपनि, आफ्नो ऊर्जाशील जवानी बिताएको पत्रकारिताको त्यो लत् कहाँ छुट्दो रहेछ र ? परिस्थिति र समय मिलाएर यहाँको अवस्थाबारे जानकारी दिने मेरो प्रयास रहन्छ नै ।

(इजरायलमा कार्यरत नीता राउत पश्चिम एसियाबाट नेपाल प्रेसको लागि रिपोर्टिङ गर्छिन्)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *