धरानका मेयर हर्क साम्पाङले रोके प्रहरी चौकी निर्माणको काम

विराटनगर । धरान उप महानगरपालिका मेयर हर्क साम्पाङले धरान १६ मा निर्माणाधीन प्रहरी चौकी निर्माणको काम रोक्न आदेश दिएका छन् ।

उनले भौतिक पूर्वाधार मन्त्रालय कोशी प्रदेश सरकारलाई पत्र लेख्दै चौकी निर्माणको काम रोकेका हुन् ।

धरानमा पछिल्लो समय विभिन्न वडामा प्रहरीका लागि भवनहरू बन्दै आएका छन् । धरान १६मा पनि बहुभाषिक पाठशाला रहेको छेउमा प्रहरी चौकी भवन बन्दै आएको छ ।

प्रदेश सरकारको बजेटमा निर्माणाधीन प्रहरी चौकीको भवन काम रोकिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताए ।

उनले भने, ‘धरानमा प्रहरीको आवश्यकतालाई हेरेर वडा कार्यालय र स्थानीयले चौकी भवनहरू बनाइदिँदै आएका छन् । धरान १६ मा पनि चौकी भवन बन्दै आएको थियो । अहिले मेयर साबले रोक्नु भएको छ ।’

उनले प्रहरीले चौकी भवन नबनाएकाले यो विषय आफूहरूसँग सम्बन्धित नरहेको बताए ।

चौकी निर्माणको ठेक्का पाएका व्यवसायी योगेश खतिवडाले चौकी निर्माणको काम रोकिएको बताए । उनले मेयर साबको आदेशका कारण निर्माणको काम रोकिएको बताए ।

धरानका मेयर हर्कराज साम्पाङले भौतिक पूर्वाधार मन्त्रालयमा लेखेको पत्रमा डीपीआर नहेरी डिजाइन बारे नगरपालिकासँग राम्रोसँग कुरा नगरी अथवा उपयुक्त स्थान नखोजी निर्माण कार्य नगरिदिनु हुन अनुरोध गरिएको छ ।

पत्रमा बहुभाषिक पाठशालाको कम्पाउन्ड भित्र प्रहरी चौकी बनाउँदा पाठशालाको उद्देश्य प्राप्तिमा असर पुग्ने उल्लेख छ ।

Comments

One response to “धरानका मेयर हर्क साम्पाङले रोके प्रहरी चौकी निर्माणको काम”

  1. Purna Avatar
    Purna

    स्थानिय स्तरको काम स्थानिय सरकार मातहत रहने भएकाले स्थानीय सरकार सँग सम्बन्य हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *