रुपन्देही । बुटवल उपमहानगरपालिकामा दाताले लगानी गरेर बनाइदिएका दुई अस्पताल सञ्चालन हुनेका छैनन् । एडीबीको लगानीमा बनेका यी दुई अस्पताल उपमहानगरले समयमै सञ्चालनको कार्यविधि बनाउन नसक्दा अलपत्रजस्तै बनेका हुन् । यी दुई स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएर दाताले उपमहानगरलाई हस्तान्तरण गरे पनि स्थानीयले यसबारे कुनै जानकारी नपाएको गुनासो गरेका छन् ।
निर्माणको काम सकेर अहिले यी स्वास्थ्य केन्द्रहरूका भवनको प्रयोग नभएको गुनासो स्थानीयले गरेका हुन् । अक्सिजन सुविधासहितका दुई वटा स्वास्थ्य केन्द्र सञ्चालनपछि स्थानीयले आफ्नै घरछेउमा डक्टरसहितको सेवा पाउने अपेक्षा गरे पनि त्यो पाउन नसकेका हुन् ।
उपमहानगरपालिकाको वडा नम्बर १३ र १७ मा १६–१६ शय्याका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र सञ्चालनार्थ भवन निर्माण भएका हुन् तर निर्माण भएका भवन यसरी ताला लागेको अवस्थामा रहेका छन् । बुटवल १७ को भवनमा रहेका पङ्खाहरू चोरी भएका छन् भने बाउन्ड्रीमा लगाएका फलामका रड भाँचिएका छन् ।
बुटवल १७ का वडाध्यक्ष ज्ञानबहादुर रेश्मीले एडीबीले बनाएर हस्तान्तरण गरेको सुने पनि आफूलाई जानकारी नभएको र अराजक समूहले भवनमा रहेका पङ्खा चोरेर लगेको र बाहिरका रडहरू भाँचिदिएको जनाए ।

‘शहरी स्वास्थ्य क्लिनिक भनेर एडीबीको सहयोगमा भवन बनेको हो, भवन निर्माणका लागि रकम आए पनि जग्गा दाताले दिएको हो, तर जग्गाको ठाउँ नै फरक परेर समस्या आयो, अर्कोतिर निर्माण सम्पन्न भए पनि यसलाई जुन उद्देश्यले बनाइयो त्यो अनुसार काममा लगाउन सकिएन, यो अस्तव्यस्त भएपछि अहिले भाडामा बाहिर रहेको स्वास्थ्य चौकी लगेका छौँ, डक्टरसहितको सेवा दिने कुरा हो खै अब उपमहानगरले केही सोचेको होला’ उनले भने ।
दाताले दिएको रकम उपमहानगरका जनप्रतिनिधिले आफूले बनाएको प्रचार गरेको र हस्तान्तरणपछि पनि कुनै योजना नबनाएकाले यस्तो अवस्थामा पुगेको स्थानीय खिमानन्द पाण्डेले बताए ।
‘भवन निर्माणको सम्पूर्ण काम सकिएर पनि सञ्चालनमा नआउँदा चिन्ता लागेको छ, दाताले दिएको रकम आफैले गरेको जस्तो प्रचार भएको छ, आफ्नै दैला अगाडि स्वास्थ्य केन्द्र बन्न लागेपछि खुसी थियौँ । तर अहिले सञ्चालनमा नआउँदा निराशा बढाएको छ’ उनले भने । स्थानीय रूक्मागत न्यौपानेले आफ्नो ठाउँमा यति ठूलो स्वास्थ्य संस्था बने पनि यसबाट सेवा पाउन नसकेको बताए । ‘डक्टरसहितको सेवा दिइने भनिएको थियो, तर कुनै सेवा थपिएन, भवनको प्रयोग नै भएन’ उनले भने ।
मोतीपुरको स्वास्थ्य केन्द्रले बुटवलका वडा १७, १८ र १९ वडाका बासिन्दालाई लाभ हुने अपेक्षा गरिएको छ । तिनाउ पूर्व र तिनाउ पश्चिमका बस्तीको समान विकासका लागि मोतीपुरमा स्वास्थ्य केन्द्र निर्माण गरिएको उपमहानगरले जनाएको छ ।
एसियाली विकास बैंक मार्फत जापान सरकारको अनुदानमा १ करोड ५७ लाख लागत लाग्ने गरी यी भवनहरूको निर्माण सम्झौता भएको थियो । ६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न हुने गरी भवन निर्माणको ठेक्का दिएको थियो । अहिले ठेक्का सम्झौताअनुसार भवन निर्माण सम्पन्न भएका छन् । तर यी भवनहरू निर्माण सम्पन्न भएर पनि स्वास्थ्य केन्द्रमा परिणत हुन सकेका छैनन् ।
वडा नम्बर १७ को स्वास्थ्य केन्द्रको आडैमा तथा वडा कार्यालय नजिकै रहेको यो भवन सञ्चालनको लागि वडालाई कुनै जानकारी नभएको र उपमहानगरले नै सञ्चालन गर्ने भएकाले यस बारेमा केही थाहा नभएको बताउँछन् वडा नम्बर १७ का वडाअध्यक्ष ज्ञानबहादुर रेश्मी ।
सामुदायिक बहुउद्देश्यीय भवन मोतीपुर नाम दिएको यो भवनले बुटवलका स्वास्थ्य क्षेत्रमा थप इँटा थप्ने काम गर्ने पालिकाको भनाइ थियो । कोभिडजस्तै महामारीजन्य विपद् व्यवस्थापनमा समेत सहयोग हुने गरी यस हस्पिटललाई निर्माण गर्ने अक्सिजन सिलिन्डरसहितका भवन बनाइएको छ ।
सञ्चालन भए यी स्वास्थ्य केन्द्रहरूमा नर्स प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरू रहने र सामान्यदेखि अक्सिजन लिएर उपचार गर्नेसम्मका बिरामीहरूको उपचार हुने जनाइएको थियो । यता उपमहानगरपालिकाले भने भर्खरै निर्माण काम सम्पन्न भएकाले सञ्चालनको प्रक्रियामा रहेको बताएको छ । तर उपचारका लागि बुटवलवासीले अन्यत्र जानुपर्ने अवस्था नदिन भनेर निर्माण गरिएका यस्ता भौतिक पूर्वाधारहरू यत्तिकै छोड्नु उपमहानगरको कमजोर हो ।
स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मी रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । उनले दाताले निर्माण गरेर हस्तान्तरण भए पनि स्थानीयलाई जानकारी दिन नसकेको स्वीकार गर्दै अहिले स्वास्थ्य चौकीलाई सारेर सेवा थालिएको र केही समयमा जनशक्ति कार्यविधि बनाएर मेडिकल अफिसरसहितको सेवा दिइने दाबी गरे ।

‘बुटवल १७ मा मेडिकल अफिसरसहितको सेवा दिने योजनाअनुसार भवन बनेको हो तर यसलाई समयमै भनेजस्तो सेवा दिन सकिएको छैन, १३ मा फिजियोथेरापी अस्पताल चलाउने योजनाअनुसार भवन बनेको हो यसलाई पनि अब प्रक्रियामा लगेर अघि बढाउने हो, अहिले २ जनाले स्वास्थ्य इकाईका रूपमा सेवा दिनुभएको छ’ उनले भने ।
पाण्डेले बुटवल १४ मा रहेको बर्थिङ सेन्टरमा भने ठूलो लगानी गरे पनि सेवाग्राही कम भएकाले अब के गर्ने भन्ने अन्योलमा परेको बताए । उनले उपमहानगरले सबै वडाबाट स्वास्थ्य सेवा दिने हिसाबले लगानी गरिरहेको बताए । तर स्वास्थ्य क्षेत्रका जानकारहरू बुटवलमा ठूला विशेषज्ञ सरकारी अस्पताल भएकाले बाहिर खोलिने अस्पतालमा सेवाग्राहीको चासो कम हुने भएकाले लगानी खेर जाने चिन्ता गरेका छन् ।

Leave a Reply