काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले स्कटल्याण्ड सिरिजमा टिमको रुपमा एकदमै राम्रो क्रिकेट खेलेको बताएका छन् । आइसीसी लिग–२ र टी–२०आई खेलेर स्वदेश फर्किएका कप्तान रोहितले युकेमा गरेको तयारीले सिरिजको प्रर्दशनमा सहयोग पुगेको बताए ।
‘स्कटल्याण्ड कन्डिसन त्यति सजिलो थिएन । टिमको रुपमा एकदमै राम्रो क्रिकेट खेल्यौं,’ उनले भने, ‘जुन हिसाबले हाम्रो तयारी थियो १० दिनअघि युकेमा गएर । त्यसले पनि एकदमै सहयोग गर्याे । सबै खेलाडीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो ।’
नयाँ प्रशिक्षक आएपछि वातावरण एकदमै पोजेटिभ भएको रोहितले सुनाए । उनले बलियो टोलीसँगको सिरिजमा ४ मध्ये ३ खेलमा जित निकाल्दा आगामी खेलका लागि कन्फिडेन्स बढेको बताए ।
‘त्यो कन्डिसनमा गएर ३ जित निकाल्नु सजिलो थिएन हाम्रो लागि । यो कन्फिडेन्स आएको छ टिममा । नेदरल्याण्ड्स र स्कटल्याण्ड टप टिम हुन् । उहाँहरुलाई हराउँदा ग्रुपलाई धेरै कन्फिडेन्स आउँछ । आउने खेल तथा सिरिजमा त्यसले सहयोग गर्छ,’ उनले भने ।
नेपालले लिग–२ अन्तर्गतको सिरिजमा ३ खेलमा जित र एक खेलमा हार बेहोरेको थियो । यस्तै टी–२०आई सिरिजमा दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो ।

Leave a Reply