मध्यपूर्वका आकाशमा अमेरिकी उडानमाथि जोखिम, वैकल्पिक रुटले हवाई भाडा बढ्ने निश्चित

काठमाडौं । अमेरिकाले इरानमाथि हमला गरेसँगै खाडी तथा मध्यपूर्व क्षेत्रमा अमेरिकी उडानहरुमाथि हवाई जोखिम बढेको छ । उडान जोखिम जानकारी साझा गर्ने संस्था OPSGROUP द्वारा सञ्चालित वेबसाइट सेफ एयरस्पेसले इरानमाथि अमेरिकी आक्रमणले यस क्षेत्रमा रहेका अमेरिकी अपरेटरहरूलाई जोखिम बढाउनसक्ने बताएको छ ।

सो संस्थाले भनेको छ- ‘नागरिक उड्डयनविरुद्ध कुनै विशेष धम्की दिइएको छैन, तर इरानले पहिले नै मध्य पूर्वमा अमेरिकी सैन्य हितहरूमा आक्रमण गरेर बदला लिने चेतावनी दिएको छ ।’

अर्कोतर्फ हुथी, हिजबुल्लाह जस्ता प्रोक्सीहरूमार्फत पनि अमेरिकी हवाई उडानमा खतरा छ ।

सेफ एयरस्पेसका अनुसार सम्भावित हवाई जोखिम अब बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सलगायतका देशहरूमा विस्तार हुन सक्नेछ । ती क्षेत्रमा अमेरिकी हवाई उडान खतरायुक्त हुने भनिएको छ ।

अमेरिकी एयरलाइन्सहरुले उडान बन्द गरेमा अन्तर्राष्ट्रिय हवाई भाडा वृद्धि हुने निश्चित रहेको छ ।

रोयटर्सका अनुसार एयरलाइन्सहरूले इरान, इराक, सिरिया र इजरायलमाथिको हवाई क्षेत्रमा उडान नगरेर अर्को रुट तय गरिरहेका छन् । तिनीहरूले क्यास्पियन सागर हुँदै उत्तर क्षेत्र इजिप्ट र साउदी अरेबिया हुँदै अन्य मार्गहरू छनोट गरेका छन् ।

यद्यपि यसले इन्धनको बढी खपत, चालक दलको लागत र लामो उडान समय लाग्ने भएकाले भाडा उच्च हुनेछ ।

द्वन्द्व क्षेत्रहरूमा मिसाइल र ड्रोनहरुको आक्रमणले गर्दा एयरलाइन ट्राफिकको लागि उच्च जोखिम हुने गर्छ । सेफ एयरस्पेसले इरानमा अमेरिकी आक्रमणले यस क्षेत्रमा अमेरिकी अपरेटरहरूको लागि जोखिम बढाउन सक्ने बताइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *