काठमाडौं । नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीले नेता कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएको छ । कार्यकर्तालाई पार्टी, सरकार र पछिल्लो समसामयिक विषयमा आधारभूत ज्ञान दिने लक्ष्यका साथ चलिरहेको प्रशिक्षण गत वर्षदेखि सुरु भएको थियो ।
प्रशिक्षणमा प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्यहरुलाई फरकफरक विषयमा प्रशिक्षित गर्ने कार्य भइरहेको कोशी प्रदेश सम्पर्क कमिटीका सचिव सुरज काफ्लेले जानकारी दिए ।
जसअनुसार प्रदेश नेता कार्यकर्तालाई १६ वटा विषय र जिल्लाका कार्यकर्तालाई ४ विषयमा प्रशिक्षण भइरहेको छ । आगामी दुई हप्तामा पहिलो चरणको प्रशिक्षण समापन हुने काफ्लेले बताए ।

ललितपुरको च्यासलस्थित प्रदेश सम्पर्क कमिटीको कार्यालयमा हुने प्रशिक्षण प्रत्येक शनिबार सञ्चालन भइरहेको छ । उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मार्गदर्शन सिद्धान्त मार्क्सवाद र जनताको बहुदलीय जनवाद र ऐतिहासिक भौतिकवाद विषयमा प्रदेशका पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिए । स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले नेपालको भूराजनीति र कूटनीतिक सम्बन्ध बारेमा प्रशिक्षण दिए ।

त्यस्तै, पार्टी लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेलले मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी राजनीतिबारे प्रशिक्षण दिएका छन् भने सांसद ईश्वरी रिजालले मार्गदर्शक सिद्धान्त लेनिनवाद र केपी ओली सरकारका काम भ्रम र यथार्थ विषयमा प्रशिक्षित गराएका थिए ।
प्रा.डा. रमेश भट्टराईले समाजको परिचय र विकास क्रम र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्र र सकारका कामका विषयमा प्रशिक्षण दिएको काफ्लेले बताएका छन् ।

यसैगरी, स्थायी समितिका सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले प्रचारात्मक कामको महत्त्व र सूचना प्रविधिका विषयमा प्रशिक्षण दिए ।
प्रदेश सम्पर्क कमिटी अन्तर्गतका १४ वटा जिल्लाका पदाधिकारी तथा सदस्यहरूलाई पनि प्रशिक्षण जारी छ । जसमा माक्र्सवाद लेनिनवाद जनताको बहुदलीय जनवादका विषयमा पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले प्रशिक्षण दिए ।

सम्पर्क मञ्च विगत वर्तमान यसका निर्देशिका बारेमा केन्द्रीय कमिटी सदस्य नरेन्द्र श्रेष्ठ र निर्वाचन आयोगका सदस्य कृष्ण आङ्दम्बेले प्रशिक्षण दिएका छन् ।
प्रशिक्षणमा पार्टीका स्थायी समिति सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डितले कोशी प्रदेश सम्पर्क कमिटीले नियमित पार्टी स्कुल सञ्चालन गरेर अनुकरणीय काम गरेको बताए ।

उनले पार्टीका सबै तहका कार्यकर्तालाई राजनीतिक रूपमा प्रशिक्षित गर्नु जरुरी रहेको तर विविध कारणले छुटिरहेकाहरूलाई सम्पर्क कमिटीमार्फत विचारको प्रशिक्षण सञ्चालन गरेकोमा धन्यवाद दिए ।


Leave a Reply