भोजपुर । मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम ट्रेल रेस’ सम्पन्न भएको छ । खेलकुद तथा दौडका मध्यमबाट पदमार्गको प्रचारप्रसारमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
पर्यटकीयस्थल खोटाङ-भोजपुरको सिमाना चखेवा भञ्याङबाट टेम्केडाँडा हुँदै खोटाङको तावाभञ्याङ र पुनः तावाभञ्याङबाट पाँचधारे, रतिया, मझौले, हात्तीखर्क हुँदै चखेवासम्म २२ किलोमिटर दूरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
प्रतियोगितामा समूहतर्फ सिलिचोङ प्रथम, टेम्के द्वितीय र मैयुङ तृतीय बनेको आयोजक रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिए ।

उनका अनुसार पुरुष एकलतर्फ निर्धारित दूरी एक घण्टा ४६ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै विशाल राई प्रथम, एक घण्टा ४८ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै सरोज लिम्बू द्वितीय र दिपक राई तृतीय बनेका छन् ।
महिला एकलतर्फ निर्धातिर दूरी दुई घण्टा २२ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै दिर्पा बस्नेत प्रथम, कृष्मा राई द्वितीय र जुलिन राई तृतीय भए भए ।
समूहका विजेतालाई ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार दिइएको छ । एकलतर्फका प्रथम, द्वितीय र तृतीयले क्रमश: १५ हजार, १० हजार र ५ हजार नगद पाएका छन् ।
पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यका साथ टेम्केमैयुङ गाउँपालिकाको ५ लाख आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।
पदमार्गको प्रचारप्रसारसँगै यहाँको पर्यटन प्रवर्द्धनसहित समग्र विकासका लागि जोड दिँदै आइएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । मुन्दुम पदमार्ग सङ्घीय सरकारको एक सय गन्तव्यमा सूचीकृत मार्ग रहेकाले जिल्ला तथा छिमेकी जिल्लाका स्थानीय तहसँग सहकार्य र समन्वय गरी यहाँको विकास र विस्तार गर्ने काम भइरहेको पनि बस्नेतले जानकारी दिए ।


Leave a Reply