उदयपुरका दुई जनप्रतिनिधिको निधन

काठमाडौं । उदयपुरमा दुई जना जनप्रतिनिधिको निधन भएको छ । रौतामाई गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका वडा नं ३ का वडा सदस्य छविलाल मगरको निधन भएको हो ।

रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरका अनुसार उनीहरू दुबै जनाको शनिवार निधन भएको हो । कांग्रेसबाट निर्वाचित वडा सदस्य मगरको घरमै निधन भएको हो भने वडाध्यक्ष दाहालको अस्पतालमा निधन भएको हो ।

मुटु रोगी रहेका वडाध्यक्ष दाहालको उपचारकोक्रममा निधन भएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले जानकारी दिए । उनले भने, ‘वडाध्यक्ष दाहालको टिचिङ अस्पताल महाराजगञ्जमा मुटुको अपरेसन गरिएको थियो । सुगर र प्रेसरको पनि रोगी थिए । धेरै वटा रोग भएकाले अपरेसन सफल हुन सकेन । शनिवार उनको निधन भएको हो ।’

नेकपा एमालेको कोशी प्रदेश विभागका सदस्य रहेका दाहाल २०७९ सालमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी २०५४ सालमा भुट्टार गाउँ विकास समितिमा एमालेबाटै गाविस अध्यक्षमा समेत निर्वाचित भएका थिए ।

दाहालका एक श्रीमती, दुई/दुई जना छोराछोरी रहेका छन् । उनको आइतबार दाहसंस्कार गरिने अध्यक्ष मगरले जानकारी दिए ।

जनप्रतिनिधिको निधनमा दुई पालिकाले आइतबार शोक बिदा दिएका छन् । दाहालको निधन रौतामाई गाउँपालिकामा र मगरको निधनका कारण आज ताप्ली गाउँपालिकामा बिदा दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *