रुपन्देही । नेकपा माओवादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेवले माओवादीले मान्छे मारे भनेर रुपान्तरणकारी जनयुद्धलाई बदनाम गर्न खोजिएको बताउँदै संसारको कुन चाहिँ युद्धमा मान्छे मारेको छैन भन्दै प्रश्न गरेका छन् ।
नेपाल बुद्धिजीवी संगठन रुपन्देहीको सातौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता खनालले प्राप्त उपलब्धिको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न बुद्धिजीवीहरुले बहस चलाउन आग्रह गरे ।
उनले माओवादी आन्दोलनलाई सही दिशा दिन बुद्धिजीवीहरुले कलम चलाउनुपर्ने र जनयुद्धको बारेमा समाजमा फैलिएको भ्रम चिर्न बुद्धिजीवी वर्गलाई अग्रसर हुन आग्रह गरे ।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बौद्धिक वर्गले समाज र युगलाई प्रभावित पार्नसक्ने बताए ।
नेता बरालले नयाँ नयाँ विषयमा बहस र छलफलको परम्परा हट्दै गइरहेको र सामाजिक सञ्जालको आधारमा धारणा निर्माण गर्ने परम्परा विकास भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रामु परियारले देशको नेतृत्व गर्नसक्ने पार्टी माओवादीमात्रै भएको जिकिर गरे ।
सम्मेलनबाट मेघराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । जसअनुसार उपाध्यक्षत्रयमा प्रदीपकुमार पाण्डे‚ हिमा थापा र नेत्रलाल पाण्डे रहेका छन् । त्यस्तै सचिवमा कौशलराज गौतम‚ सहसचिवमा डा.चन्द्रबहादुर थापा र लोकराज घिमिरे चयन भएका छन् ।

Leave a Reply