काठमाडौं । एमाले संसदीय दलकी सचेतक सुनिता बरालले विदेशमा कार्यरत नेपाली श्रमिकलाई आपतकालीन अवस्थामा उद्धारका लागि ‘र्यापिड एक्सन टीम’ बनाउन जरुरी देखिएको बताएकी छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा बरालले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुँदै परराष्ट्र मन्त्रालयमा त्यससम्बन्धी छुट्टै डेस्क स्थापना गर्न सुझाव दिइन् ।
आमनागरिकको सीधै पहुँच विदेशस्थित नेपाली नियोगहरुसँग नहुने भएकाले मन्त्रालयमै स्थायी संरचना बनाउनुपर्ने उनको भनाइ थियो ।
‘विभिन्न देशमा हरेका नेपाली श्रमिकहरुलाई आपत परेका बेला उद्धार गर्न परराष्ट्र मन्त्रालयमै र्यापिड एक्सन टीम बनाउन जरुरी छ’, बरालले भनिन्, ‘एउटा सामान्य नागरिकका लागि नेपाल बाहिरका नियोगहरुमा सीधै सम्पर्क गर्ने कुरा पनि असम्भव छ । ‘र्यापिड एक्सन टीम’ बनाउने र त्यसले असहजताको अवस्थामा नेपालीलाई सहजीकरण गरेर उद्धार गर्ने कुरामा मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’
छिमेकी मित्रराष्ट्रसहित विभिन्न मुलुकसँगको सम्बन्धलाई प्रभावकारी बनाउन संस्थागत मेमोरी राख्ने प्रणालीको विकास जरुरी रहेको उनले बताइन् । ‘मन्त्री वा सरकार फेरिँदैपिच्छे संस्थागत मेमेरो नष्ट हुने कुराले विदेश सम्बन्धलाई प्रभावित गर्छ’, उनले भनिन्, ‘इन्टिच्युशनल मेमोरी’ मुलुकका लागि अत्यन्तै जरुरी छ ।’
बरालले विदेशी डायस्पोराका नेपालीसँगको सहकार्यलाई परराष्ट्र मन्त्रालयले ध्यान नदिएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत नेपालीका संघसंस्थासँगको सम्बन्ध जीवन्त बनाउनुपर्नेमा जोड दिइन् ।
उनले आगामी वर्षबाट नेपाल अतिकम विकसिम मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि हाल विभिन्न क्षेत्रमा आइरहेका वैदेशिक सहायता रोकिने भएकाले नेपालमै स्रोतको व्यवस्थापन खोज्न अहिल्यैदेखि काम गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले नेपालको विदेश नीति असंलग्नताको सिद्धान्त र ‘सफ्ट पावर डिप्लोमेसी’ को मान्यताका आधारमा अघि बढेकाले ‘कल्चरल’ र ‘टुरिजम’ कूटनीतिमा जोड दिनुपर्ने उल्लेख गरिन् ।

Leave a Reply