काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले बजेटमाथि मन्त्रालयगत छलफल हुँदा सम्बन्धित मन्त्रीहरू नै सदनमा नआएकोप्रति असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा १० वटा मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको छ । छलफलमा भाग लिँदै उनले भने, ‘आज एक दिनमा १० वटा मन्त्रालयको छलफल चलिरहेको छ । हामी सदनमा प्रभावकारी भूमिका खेल्नुपर्छ भन्नेमा छौँ । हिजो र अस्ति केही मन्त्रीहरू आउनुभएन । थपिँदै जाँदा आज १० वटा पुग्यो, मन्त्रीहरूलाई भन्न चाहन्छु, संसद्मा विनियोजन शीर्षकमा छलफल भइरहेको बेलामा, त्योभन्दा महत्त्वपूर्ण काम के होला तपाईंहरूको ? जसले गर्दा यहाँ नआएर अन्तै जानुभयो । यो निकै गम्भीर प्रश्न छ ।’
सांसद भट्टराईले संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार भने पनि मन्त्रीहरूलाई प्रधानमन्त्री र संसदप्रति जिम्मेवार हुनुपर्छ भनेको बताए ।
उनले थपे, ‘जब हामी समिति वा सदनमा आफूले प्रस्तुत गरेको विधेयकमाथि गम्भीर भएर छलफलमा भाग लिँदैनौँ भने हामी गर्छौँ के त ? तीतो नमान्नुहोला, आज पनि मन्त्रीहरू नआएकै कारणले एक घण्टा पछि हामीले सदन सुरु गर्यौँ । यो गम्भीर जवाफदेहिताको कुरा हो ।’

Leave a Reply