काठमाडौं । घटना भएको २३ महिनासम्म कोही मान्छे देशभित्रै कसरी फरार हुन्छ ? के नेपालको प्रहरी संयन्त्र त्यति फितलो छ वा जानेरै कोही व्यक्तिलाई उन्मुक्ति दिइएको हो ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार जाँचबाट २०८० साउन २ गते बाहिरिएको एक क्वीन्टल सुन प्रकरणमा प्रत्यक्ष र महत्वपूर्ण भूमिकामा रहेकी अमला रोका शुक्रबार पक्राउ परिन् । उनी टोखामा फ्ल्याट लिएर व्यवस्थित रूपमा बसेकी थिइन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार उनका नियमित जीवनचर्यामा कुनै फरक थिएन ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रमुख एआईजी चन्द्रकुवेर खापुङ अमला देश बाहिर गएको वा यही रहेको जस्ता विवरण नभएको बताउँछन् । ‘हामीले अनुसन्धान गर्नुपर्ने कुरा बाँकी छैन’, उनले भने, ‘उनी पक्राउ गर्न बाँकी थिइन्, अब अदालतमा बुझाइदिन्छौं, जे गर्छ, अदालतको कुरा हो ।’
यी सबै कुरालाई हेर्दा कतै अमला फरार भएदेखि अहिले भेटिएसम्मका घटना कुनै ‘सेटिङ’ त हैन भन्ने प्रश्न उब्जिन्छ । किनभने उनका पति दावा छिरिङ सुन काण्डको मुख्य योजनाकार देखिन्छन् । तिब्बती मूलका उनी बेल्जियम नागरिक हुन् । उनले काभ्रे जिल्लाबाट निमा तामाङको नाममा नेपाली नागरिकता पनि लिएका छन् ।
को हुन् अमला ?
रोल्पा, थवाङकी अमला रोका सशस्त्र द्वन्द्वकालीन समयदेखि नै माओवादी कार्यकर्ता हुन् । उनका पूर्वपति सुजन प्रकाश द्वन्द्वकालमै मारिएका थिए । शान्ति प्रक्रिया शुरु भएसँगै २०६४ सालदेखि नियमित काठमाडौं बस्न थालेकी उनले दावासँग दोस्रो विवाह गरिन् । उनले रोल्पा–काठमाडौं गणतान्त्रिक मञ्च (सम्पर्क कमिटी) को उपाध्यक्ष भएर केही समय काम गरिन् ।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार दावाका आपराधिक कामहरूलाई सहयोग गर्नु अमलाको मुख्य भूमिका थियो । कानूनतः उनको स्वामित्वमा रहेको ठमेलस्थित होटल भियना त्यस्तो कामका लागि प्रयोग हुन्थ्यो ।
अमलाले होटलमा पाहुनाका रूपमा विशिष्ट व्यक्तिहरू बोलाउने, खानपिन गराउने र मान्छे हेरेर उपहार, नगदसहितका व्यवस्था गर्ने गरेकी थिइन् । त्यसक्रममा उच्चपदस्थ प्रहरी, प्रशासकदेखि पत्रकारसम्मको सम्पर्क उनको मोबाइल सीडीआर (कल डिटेल्स रेकर्ड) अध्ययनबाट फेला परेको थियो ।
दावाको अपराध कनेक्सन

तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङले अमलाकै सहयोगमा काभ्रेबाट नेपाली नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ ।
चिनियाँ नागरिकसँग मिलेर विभिन्न गैरकानूनी काममा दावा छिरिङको सक्रियता थियो, तर सुनकाण्डअघिका विविध घटनामा अरु पक्राउ पर्ने, उनी जोगिँदै आएका थिए ।
२०७६ पुस ७ गते प्रहरीले काठमाडौंका विभिन्न स्थानमा छापा मारेर १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको थियो । उक्त गिरोहले काठमाडौंमा अवैध कल सेन्टर सञ्चालन गरी अनलाइन जुवा खेलाउनेलगायतका आर्थिक गतिविधि गर्थ्यो ।
अश्लील भिडियो देखाएर मानिसलाई ब्ल्याकमेलिङसमेत गरिने उक्त कामलाई नियन्त्रणमा लिन काठमाडौंस्थित चिनियाँ दूतावासले नै नेपाल प्रहरीलाई अनुरोध गरेको थियो । दूतावासले काठमाडौंमा कम्तीमा १ हजार चिनियाँ नागरिक यस्तो कार्यमा संलग्न भएको सूचना प्रहरीलाई दियो, तर १२२ जनामात्रै पक्राउ परेपछि दूतावासले प्रहरीको काममा शंका गरेको थियो ।
यो प्रकरणमा पक्राउ गरिनुपर्ने व्यक्तिमा दावा छिरिङ पनि एक हुन्, तर उनी पक्राउ परेनन् । बरु दूतावासले दिएको सूचनाका आधारमा अरु मान्छे भगाउन सफल भए । यो काममा तत्कालीन प्रहरी नेतृत्वसँग उनको सघन सहकार्य रहेको अनुसन्धानकर्मीले जनाएका छन् ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) का छोरा प्रतीक, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसहितका व्यक्ति प्रायःजसो भियना होटलमा हुन्थे । ती सम्बन्ध निर्माण गर्ने काममा अमलाले भूमिका खेल्ने गरेकी थिइन् ।
सुन काण्डमा दावा
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट सुन बरामद भयो, ४ गते चिनियाँ नागरिक लिङ चुवान पक्राउ परे । चुवानले दिएको सूचनाका आधारमा तस्करीको सुन व्यवस्थापनमा दावा र पत्नी अमलाको संलग्नता पुष्टि भयो । सुन तस्करीको काम सिध्याएर हङकङ फर्किने तयारीमा रहेका चुवान विमानस्थलबाट पक्राउ परेका थिए ।
अनुसन्धानका क्रममा उनी पक्राउ पर्नुअघि दावा र अमलाको होटल भियनामा रहेको खुल्न आयो । चुवान पक्राउ परेको १२ औं दिनमा दावा पक्राउ परे, तर अमला शंकास्पद तवरले फरार भइन् । किनभने उनीसँग उक्त प्रकरणका पर्याप्त सूचना थिए । उच्चपदस्थ व्यक्तिका संलग्नता उनीबाट खुल्ने सम्भावना थियो । त्यसैले उनलाई भगाइएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।
के अमलालाई चोख्याइँदैछ ?
घटना भएको २३ महिनापछि र अन्य प्रतिवादीलाई अदालतले थुनामा राख्न आदेश दिएको २० महिनापछि अमला एकाएक शुक्रबार पक्राउ परेकी छन् । उनको खोजीमा संलग्न केन्द्रीय अनुसन्धान व्युरोका एक प्रहरीका अनुसार टोखामा उनी निर्विघ्न बसेकी थिइन् । कसैको डरमा थिइनन् । खुलेआम हिँड्डुल गर्थिन् ।
त्यत्रो सुनकाण्ड भयो । बरामद भएको १२ औं दिनमा पति दावा समातिए, उनी पति समातिनु केही समयअघि मात्रै होटल भियनाबाट भागिन् र नेपालभित्रै लुकिन् ।
प्रहरीले उक्त काण्डमा संलग्न २९ जनालाई थुनामा पठाउन सिफारिस गर्दा उनी र जीवन चलाउनेलाई फरार सूचीमा राख्यो । अर्का प्रतिवादी दीपेश पुन नक्कली भूटानी शरणार्थी प्रकरणमा थुनामै थिए । भन्सार एजेन्ट रुकमिना सुब्बा क्यान्सर पीडित भएका कारण उनलाई पाँच लाख धरौटी लिएर थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा दिइयो ।
बाँकी २५ जना थुनामा गए । त्यसमध्ये २०८१ कात्तिक ९ गते सर्वोच्चको आदेशले ७ जना रिहा भए । रिहा हुनेमा दोलखाका ४४ वर्षीय किशोर बस्नेत, काठमाडौंका ५८ वर्र्षीय कुमार ढकाल, ५० वर्षीय सरोज श्रेष्ठ, कैलालीका ५० वर्षीय सन्तोष चन्द, खोटाङका ४६ वर्षीय राजेन्द्रकुमार राई, दोलखाका ५४ वर्षीय रामकुमार भुजेल र शिवकुमार सर्राफ थिए ।
जीवन चलाउने अहिलेसम्म फरार छन् । उनका विरुद्ध प्रहरी महानिरीक्षकको नेतृत्वमा रहने इन्टरपोलको नेशनल कन्ट्रोल व्युरो (एनसीबी) ले इन्टरपोल महासचिवालयमा डिफ्युजन नोटिस जारी गरेको छ ।
घटनाका यी सिलसिलाभित्र अमला प्रमुख भूमिकामा देखिन्छिन्, तर नाटकीय तवरले २३ महिनासम्म फरार बनाइन् । कतै ‘हाइलेभल सेटिङ’ का आधारमा उनलाई केही समय थुनामा राख्ने र चोख्याएर छाडिने त हैन ? यस्तो आशंका व्यापक बनेको छ ।

Leave a Reply