ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउन आग्रह गरेका छन् ।
‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११ औँ विश्व योग दिवस २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योग मानव जातिको कल्याण, विश्वशान्ति, समृद्ध नेपाल, सुखी नेपाली निर्माणका लागि नेपालले गर्ने कार्य भएको बताए।
उनले भने- ‘योगका आठ वटा सूत्रहरूमध्ये अथक योग अनुशासन आवश्यक छ, आज नेपाली समाज अनुशासनबाट पीडित छ, अनुशासनविना ध्यान हुँदैन, राम्रो कुराहरूमा स्थिरता हुनु नै योगको निष्कर्ष हो, मति बुद्धिसहितको योग आवश्यक छ, जिम गएर ज्यानमा ठूलाठूला मसल बनाएर मात्रै हुँदैन, विवेकबिना योग हुँदैन।’
प्रधानमन्त्री ओलीले हामीले योगलाई दैनिकचर्यासँग जोडेर हरेकलाई योगी बनाउन खोजेका हौँ भन्दै आरोग्यताको कुरा गर्दा खानपान, योग र आरामको सन्तुलनलाई ध्यान दिनुपर्नेमा जोड दिए।
उनले भने, पेट भर्नका लागि हैन, स्वास्थ्यका लागि विषादीरहित खानामा ध्यान दिनुपर्छ, हामीलाई डक्टर र अस्पताल पनि चाहिन्छ, तर योग र ध्यान पनि चाहिन्छ, डाक्टर चाहिन्छ धेरै डाक्टर उत्पादन गर्छौ, तर डाक्टरको सङ्ख्या बढाउने भन्दा बढी रोगीहरूको सङ्ख्या घटाउनेमा ध्यान दिनुपर्छ, त्यसकारण निरोगी नेपाल सफल हुन्छ, म प्रधानमन्त्री हुने बित्तिकै निरोगी नेपालको नारा दिएँ, निरोगी नेपालको अर्थ रोग लाग्नै नदिने भनेको हो।’
उनले मानिसको जीवनमा लागू गर्नुपर्ने कुरा अहिंसा, सत्य, अनुशासन र स्वस्थ्यतासहितको खुसी हो भएको बताए।
उनले भने- ‘आज विश्वलाई शान्ति चाहिएको छ, हिंसा होइन अहिंसा चाहिएको छ, यही कुरा हतियारधारी र अहंकारधारीहरुले बुझिदिए भने शान्ति हुन्छ, म पवित्र भावले काम गर्छु, मौका पाएका बेला देशको सेवा गर्छु, नपाएको वेला पवित्र भावना राख्छु, योगले स्वास्थ्यसँग, शरीरसँग, मनसँग र समाजसँग सम्बन्ध राख्छ । योग घरमै बसेर गर्न सकिन्छ आफू पवित्र रहनुस्, पवित्र सोच्नुस्, अरूको सम्पत्तिमा लोभ नगर्नुस्।’

Leave a Reply