काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। विप्लवले आज बिहान खुमलटार पुगेर प्रचण्डसँग भेटे गरेका हुन्।
विप्लवले साथमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पनि साथ लगेका थिए। भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चालाई सक्रिय बनाउनेदेखि पार्टी एकतासम्मको विषयमा कुराकानी भएको जनाइएको छ।
नेकपासहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेसपा महेन्द्रराय यादव पक्ष सम्मिलित मोर्चा अहिले निष्क्रिय छ। मोर्चालाई फेरि सक्रिय बनाउनको लागि विप्लवले दौडधुप थालेका हुन्।
यस्तै, माओवादी र नेकपाबीच पार्टी एकता गर्ने दुवै पार्टीले निर्णय गरेपनि अहिलेसम्म सहमति बन्न सकेको छैन। प्रचण्डले माओवादी घटक मात्रै नभएर मोर्चालाई नै एउटै पार्टी बनाउने गरी छलफल भइरहेको सार्वजनिक रूपमै बताउँदै आइरहेका छन्।
विप्लवले हिजो नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहसँग बेग्लाबेग्लै भेट गरेका थिए।

Leave a Reply