काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध आरोपहरू नियोजित षड्यन्त्र भएको बताएका छन्। लामिछानेले एक सार्वजनिक अपिलमार्फत आफूमाथि लगाइएका आरोपहरूलाई खण्डन गर्दै हालको घटनाक्रमलाई राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजनाको हिस्सा भनेका छन्।
उनले स्पष्ट रूपमा लेखेका छन्,’मलाई जनताबाट पाएको समर्थन, साँचो देशभक्तिको मूल्यमा दण्डित गर्न खोजिएको छ।’ लामिछानेका अनुसार केही गुटले विगत तीन वर्षदेखि योजनाबद्ध रूपमा आफ्ना चरित्र हत्या अभियान सञ्चालन गर्दै आएका छन्। पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेयता देशका मुख्य मुद्दाहरू उठाउँदै आएको बताए।
लामिछानेले आफूलाई अमेरिकामा बसेका बेला भएको वैवाहिक सम्बन्ध र त्यससँग सम्बन्धित विषयलाई राजनीतिक स्वार्थले उछालिएको आरोप पनि लगाएका छन्। उनले लेखेका छन्, ‘यो वैयक्तिक जीवनसँग सम्बन्धित विषयलाई सार्वजनिक गरेर मेरो सामाजिक छवि बिगार्ने प्रयास हो।’
उनले सो अपिलमार्फत जनतालाई धैर्य गर्न आग्रह गर्दै भनेका छन्, ‘म फेरि जनताको बीचमा आइ जिम्मेवारी वहन गर्न तयार छु। अहिलेको यो चक्रब्युह मलाई जनताबाट अलग पार्न बनाइएको हो।’
अपिलको अन्त्यमा उनले थपेका छन्, ‘यो सस्तो राजनीति हो। जनतालाई झुक्याउने खेल हो। तर म टुक्रिन तयार छु, झुक्न सक्दिन।’

Leave a Reply