रुपन्देही । उत्पादन भएको करिब ९५ प्रतिशत वस्तु भारतमा निर्यात गरेर बर्सेनि करोडौँ रुपैयाँ नेपाल भित्राइरहेका उद्यमी हुन् वसन्त रोका । हजारौँलाई स्वरोजगार बनाएर व्यापार घाटा कम गर्ने अभियान थालेका उनले रुपन्देही तिलोत्तमा—१६ को माउन्ट एभरेस्ट कत्था मिल सञ्चालन गरेका छन् ।
जुन नेपालको मात्रै नभएर दक्षिण एसियामै ठुलोमध्येको यस्तो उद्योग रहेको उनको दाबी छ । वसन्तसहित परिवारका चार जना मिलेर ०६३ सालमा सुरु गरेको उद्योगले करिब ३५ जिल्ला पहाडी जिल्लाबाट खोटो र खयर खरिद गर्दै आएको छ । स्थापनाकालमा ४० करोड रुपैयाँ लगानी भएको उद्योगमा अहिले करिब एक अर्बभन्दा माथि लगानी पुगेको छ ।
७ बिगाभन्दा बढी क्षेत्रफलमा फैलिएको उद्योगमा कत्था, तारपिन तेल र रोजिन उत्पादन गर्ने छुट्टाछुट्टै प्लान्टहरू छन् । उद्योगबाट एक वर्षमा करिब ८ हजार मेट्रिक टन खोटो प्रशोधनबाट करिब ६ हजार मेट्रिक टन रोजिन र तारपेन तेल तथा करिब ६ हजार मेट्रिक टन खयर प्रशोधनबाट करिब ६ सय मेट्रिक टन कत्था उत्पादन हुँदै आएको सञ्चालक रोक्काले बताए ।
यो उद्योगले खयरका काठ प्रशोधन गरेर कत्था र सल्लाको खोटो प्रशोधन गरेर तारपिन तेल र रोजिन उत्पादन गरी भारत निर्यात गर्दै आएको छ । आफ्नो उत्पादन भारतमा बेचेर बर्सेनि करिब एक अर्ब रुपैयाँ नेपाल भित्राउने गरेको र अझै यो भन्दा धेरै सम्भावना रहेको उनको भनाइ छ ।
‘यस्ता प्रकृतिका उद्योगमध्ये यो नेपालको मात्र नभई एसियाकै ठूलो र रुपन्देहीको पहिलो उद्योग हो । उद्योगले पहाडका जङ्गलमा त्यत्तिकै खेर जाने सल्लाको खोटो र बेँसीमा पाइने खयरको काठ स्थानीयबाट सङ्कलन गरेर उद्योगमा ल्याएर प्रशोधन गरी भारत निर्यात गर्दै आएको छ’ उनले भने ।

कत्था उद्योग नेपालमा पुरानो र महत्त्वपूर्ण व्यवसाय हो । यस उद्योगको प्रमुख उत्पादन चिवा, फर्निचर, र अन्य बनावटका सामानहरूको लागि कत्था हो । माउन्ट एभरेस्ट कत्था उद्योग यस क्षेत्रमा निकै पहिचान बनाइसकेको छ र यसले स्थानीय बेरोजगारलाई रोजगार प्रदान गरेको छ ।
वसन्त रोकाले माउन्ट एभरेस्ट कत्था उद्योगको स्थापना र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनी उद्योगका प्रवर्तक तथा सञ्चालक हुन् र तिनीहरूको नेतृत्वमा उद्योगले निकै प्रगति गरेको छ । वसन्त रोकाले यस उद्योगलाई वैश्विक स्तरमा पुर्याउनको लागि निरन्तर काम गर्दै आएका छन् ।
यस उद्योगको प्रतिष्ठा र प्रगति उनीहरूको मेहनत र दूरदर्शी योजनाबद्धता र लगानीका कारण हो । उनी उद्योगसँग सम्बन्धित विभिन्न सामाजिक कार्यहरूमा पनि संलग्न छन् र स्थानीय समुदायलाई सहयोग पुर्याउने काममा सक्रिय छन् ।
तारपिन तेलको ९० प्रतिशत हिस्सा नेपालकै रङ्ग उद्योगहरूमा खपत हुन्छ भने कत्था र रोजिन भने ९५ प्रतिशत भारत निर्यात हुन्छ । ‘उद्योगले करिब ७ हजार मजदुरलाई आंशिक रोजगारी दिएर एक वर्षमा कम्तीमा ८ हजार मेट्रिक टन खोटो सङ्कलन गर्ने गरेको छ ।
विशेष गरी दुर्गम पहाडी जिल्लाका सामुदायिक वन र निजी वनबाट खोटो र खयर सङ्कलन हुन्छ’– सञ्चालक रोकाले भने–‘खोटो र खयर सङ्कलन गर्न करिब ७ हजार र उद्योगका चार प्लान्टमा साढे २ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, हाम्रो उद्योग एसियाकै ठूलो हो ।’ कत्थाको प्रयोग पान, गुट्खा र औषधि बनाउन हुने गर्छ भने रोजिन फेसियल, कस्मेटिक, मसी, औषधि आदि उद्योगहरूमा औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोगमा आउँछ ।
उद्योगबाट बाइप्रोडक्टका रूपमा फिनेल बनाउने तरल पदार्थ पनि उत्पादन हुन थालेको छ । ‘विगतमा त्यत्तिकै खेर जाने खोटो र खयरले राम्रो मूल्य पाएको छ, हजारौँ स्थानीयहरू स्वरोजगार र आत्मनिर्भर हुन पुगेका छन्’—सञ्चालक रोक्का भन्छन्– ‘हामीले तिर्ने रोयल्टीबाट दुर्गमका जिल्लाहरूमा खानेपानी, सडक, विद्यालय र समुदायको आवश्यकता अनुसारका थुप्रै संरचनाहरू पनि बनेका छन् ।’
उद्योगले विभिन्न जिल्लाका करिब ६ सय बिघा क्षेत्रफलमा पाउला निया, मसला, अगर उड, रुद्राक्ष, बोधि चित्त, खयर लगायतका जातका बिरुवा र जडीबुटी समेत करिब ७ लाख बिरुवा रोपेका र ती मध्ये डेढ लाख त काट्ने भइसकेका रोक्काले बताए ।
अहिले उद्योगमा नयाँ प्रविधिका मेशिन जडान गरी स्वचालित बनाइएको छ । जसबाट उत्पादन क्षमता त बढेको छ तर कच्चा पदार्थको सहज आपूर्ति र दिगो व्यवस्थापनको समस्या छ । पूर्णतया स्वदेशी कच्चा पदार्थको प्रयोगबाट उत्पादन गरी विदेश निर्यात गर्ने उद्योग भए पनि उद्योगले भोग्नुपरेको चर्को रोयल्टी शुल्क, चर्को बैङ्क ब्याज दर, निर्यातजन्य उद्योगलाई दिनुपर्ने सुविधा नदिइएकोप्रति सरकारको नजर पुग्न नसकेको उद्योगी रोक्काको गुनासो छ ।
निर्यातजन्य उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति नहुँदा राम्रो सम्भावना हुँदाहुँदै पनि यस्ता प्रकृतिका उद्योगहरू १८ वटाबाट घटेर कत्थाको आधा दर्जनमा झरेको र ती पनि आंशिक चलेको उनको भनाइ छ । ‘सरकार रोयल्टी र कर मात्रै बढाउँछ, तर यस्ता उद्योगलाई कसरी संरक्षण र सहुलियत प्रदान गर्ने भन्ने कहिल्यै सोच्दैन’–उद्योगका सञ्चालक रोकाले भने–‘हाम्रा उत्पादनले चीन, ब्राजिल, अर्जेन्टिना लगायतका विकसित देशहरूसँग प्रतिस्पर्धा खेप्नुपरिरहेको छ । तर सरकारबाट कुनै सहयोग पाएका छैनौँ ।’
खोटो सङ्कलन गर्न स्थानीय कामदारलाई प्रतिव्यक्ति २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पेस्की रकम दिनुपर्दा करोडौँ रकम अतिरिक्त लगानी गर्नुपर्ने अवस्था रहेको उद्योगीको भनाइ छ । विगतमा त्यत्तिकै खेर जाने खोटो र खयरले राम्रो मूल्य पाएको छ, हजारौँ स्थानीयहरू स्वरोजगार र आत्मनिर्भर हुन पुगेका छन् । उत्पादित खोटो र खयर सङ्कलन गरी उद्योगसम्म पुर्याइदिने काम राज्यले गर्नुपर्ने, निर्यातजन्य उद्योग भएकाले जिल्ला र पालिकैपिच्छे विभिन्न नाममा कर लिन नहुने उद्योगी रोकाको माग छ ।
उद्योगका सञ्चालकले नेपालको ६० लाख हेक्टर वनमध्ये १० प्रतिशत अर्थात् ६ लाख हेक्टर वन क्षेत्र खाली रहेकाले त्यसमा वृक्षारोपण गर्नुपर्ने सरकारलाई सुझाउँछन् । यो खाली वन क्षेत्रमा एक हेक्टरमा १६ सय बिरुवाका दरले बिरुवा रोप्ने हो भने बिरुवा हुर्केपछि वर्ष दिनमा ३ खर्ब रुपैयाँ आम्दानी लिन सकिने रोक्काको दाबी छ । ‘३ खर्ब रुपैयाँ आम्दानी दिने जिम्मा हामी लिन्छौँ, सरकारले खाली रहेको वनलाई बिरुवा रोपेर हरियाली बनाओस्,या त हामीलाई लगाउन देओस्’–रोक्काले भने ।
भूक्षय र पहिरो रोक्दै नदी किनारमा बाँस र अम्रिसोको सम्भावना
खयरको बिरुवा अरू खेती गर्न नमिल्ने ढुङ्गे बगर र गग्रेटोमा पनि लगाउन सकिने, पानी पनि खासै नचाहिने र एक पटक हुर्केपछि तीन पटकसम्म त्यसको उत्पादन लिन सकिने भएकाले व्यावसायिक रूपमा यसको वृक्षारोपणलाई देशव्यापी अभियानका रूपमा लैजानुपर्ने उद्योगी रोकाको सुझाव छ ।
उद्यमी वसन्तले उत्तरमा चीनको सीमादेखि दक्षिणमा भारतीय सीमासम्म बग्ने सबै नदीको दुवैतर्फ किनारमा बाँस र अम्रिसो खेती गर्नुपर्ने सुझाव धेरै पटक बताउँदै आएका छन् । ‘यसमा हजारौँ होइन लाखौँ नेपालीलाई उत्पादनसँग जोड्न सकिन्छ करोडौँदेखि अर्बौँसम्म कमाउन सकिन्छ ।’ उनले भने ‘गण्डकी, कोशी, कर्णाली, नारायणी आदि नदी किनारको दायाँ बायाँ बाँस र अम्रिसो लगाउन सकिन्छ, जाजरकोट हुँदै बग्ने भेरी नदी किनारमा हजारौँको सङ्ख्यामा रुख कटहर लगाउन सकिन्छ’ ।
रुख कटहरको फलबाट वाइन पनि बनाउन सकिने जसले विदेशी महँगो वाइनलाई विस्थापित गर्ने र रुखबाट काठ उत्पादन भई बर्सेनि लाखौँ रोजगारी सिर्जना हुने रोक्काको सुझाव छ । तराईदेखि पहाडसम्मका खेतका आली र कान्लामा सफ्ट उड लगाउनुपर्ने उद्योगी वसन्त रोकाको सुझाव छ । सफ्ट उड पात झर्ने खालको बिरुवा भएकाले त्यसबाट मल बनेर यसले बालीनालीलाई असर हैन झन् फाइदा गर्छ ।
एक बिघा खेतको आली र कान्लामा मात्रै २ सय बोट सफ्ट उड रोप्न सकिने रोका बताउँछन् । यसले वर्षमा न्यूनतम ६० हजार अतिरिक्त आम्दानी दिन्छ । नेपालमा रहेको ६० लाख बिघा खेतीयोग्य जग्गामा प्रतिबिघा २ सयका दरले सफ्ट उड लगाउँदा एक वर्षमा ३६ करोड आम्दानी हुने उनको हिसाब छ ।
रेमिट्यान्स र आयातको राजस्वका भरमा मुलुक चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारले उद्योगीले अघि सारेका नवीन सोच र मागलाई सुन्नुपर्ने नेपाल चेम्बर अफ कर्मश लुम्बिनीका अध्यक्ष टङ्क पोखरेल बताउँछन् ।
मुलुकमा झण्डै १० खर्ब रुपैयाँ बराबरको निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको तर मुस्किलले २ खर्व हाराहारीमा मात्रै निर्यात हुन सकेको अवस्थामा उद्योगी वसन्त रोक्का र उनी जस्तै उद्योगीका नवीन सोचमा साथ दिनुपर्ने उनले बताए ।
‘स्वदेशी उद्योगीको संरक्षण र निर्यात प्रवर्द्धनमा सरकार उदासीन हुँदा मुलुकमा खर्च र आम्दानीको खाडल बर्सेनि डेढ खर्ब पुगेको छ, चरम व्यापार घाटाले मुलुकको भुक्तानी सन्तुलनलाई नै गम्भीर असर गरिरहेको छ’–उनले भने । रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटाले स्वदेशी कच्चा पदार्थको प्रशोधनबाट बर्सेनि करोडौँको सामान निर्यात गरेर विदेशी मुद्रा भित्राउने उद्योगलाई सरकारले विशेष संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताए ।

Leave a Reply