काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज तेस्रो स्थापना दिवस मनाउँदै छ। पार्टीको तेस्रो वार्षिकोत्सवको अवसरमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले शुभकामना सन्देश जारी गर्दै विगत तीन वर्षमा जनताबाट प्राप्त विश्वासप्रति आभार व्यक्त गरेका छन्।
अर्यालले छोटो अवधिमै पार्टीले जनसमर्थन मात्र होइन, राजनीतिक स्थायित्वको विकल्पका रूपमा आफ्नो उपस्थितिलाई बलियो बनाएको उल्लेख गरेका छन्। ‘हामीले यात्रा सुरु गर्दा आमनागरिकको निराशा, आक्रोश र परिवर्तनको तीव्र आकांक्षालाई राजनीतिक आकार दिँदै यो अभियान थालेका थियौं,’शुभकामना सन्देशमा भनिएको छ, ‘आज हामी केही चुनौतीपूर्ण परिस्थिति भोगिरहेका छौं।’
सभापति रवि लामिछानेविरुद्ध लगाइएका विभिन्न मुद्दा र तिनका कारण सिर्जिएको नेतृत्व रिक्तताले पार्टीमा केही असहजता उत्पन्न भएको स्वीकार गर्दै अर्यालले यस्तो परिस्थितिले पार्टीलाई अझ एकताबद्ध र दृढ बनाएको दाबी गरेका छन्।
‘आज तेस्रो स्थापना दिवस मनाइरहँदा हामी केही जटिल र चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेका छौं । परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरी सभापति रवि लामिछानेविरुद्ध अनेकौं मुद्दा लगाइएको छ । सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले हामीलाई थप एकताबद्ध र दृढ भने बनाएको छ । हामी कानूनी लडाइँलाई सशक्त बनाउँदै सुनियोजित षड्यन्त्रको जनस्तरबाट समेत प्रतिवाद गरिरहेका छौं । ,’ उनले भनेका छन्।
पार्टीको सांगठनिक सुदृढीकरण र विस्तार अभियानलाई अभियानकै रूपमा अघि बढाइरहेको जनाउँदै, अर्यालले संघीय संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। ‘सरकारका गलत कामको खबरदारी र जनमुखी कानुन निर्माणमा निर्णायक भूमिका खेल्ने हाम्रो संकल्प पछिल्ला घटनाले झनै बलियो बनाएको छ,’ उनले उल्लेख गरे।
रास्वपा पुराना राजनीतिक दलहरूको ‘सिण्डिकेट’ विरुद्धको वैकल्पिक राजनीतिक अभियान भएको दाबी गर्दै अर्यालले विधिको शासन, जनमैत्री सेवा र सुशासनमार्फत जनआशा पूरा गर्ने मार्गमा अघि बढ्ने स्पष्ट संकेत दिएका छन्।
महँगी, बेरोजगारी, स्वास्थ्य, शिक्षा लगायत जनजीविकाका सवालमा सडकदेखि सदनसम्म सशक्त ढंगले प्रस्तुत हुने अठोट दोहोर्याउँदै उनले आमनागरिकको विश्वास र समर्थनलाई नै पार्टीको मुख्य शक्ति बताएका छन्।
‘यात्रा सजिलो छैन भन्ने हामीलाई थाहा छ। तर, हामी एक भएर अघि बढ्यौं भने परिवर्तन सम्भव छ,‘सन्देशमा भनिएको छ, ‘तेस्रो स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना, जय घण्टी’

Leave a Reply