काठमाडाैं । समीक्षक, निबन्धकार र समालोचक गुरुङ सुशान्तको पुस्तक ‘इतर समीक्षा’ भर्खरै पाठकहरुमाझ पुगेको छ । दुई दशकदेखि आख्यान तथा गैरआख्यानदेखि चलचित्रसम्म कलम चलाइरहेका सुशान्तले गरेका तीक्ष्ण विश्लेषण र मूल्यांकनहरुको संगालो हो, ‘इतर समीक्षा’ ।
पहिचान पक्षधर लेखकको परिचय निर्माण गरेका सुशान्त सीमान्तकृत वर्ग र समुदायको पक्षमा निरन्तर बोलिरहेका छन् । कुनै दलको छत्रछायाँमा रहेर दलको झन्डा हल्लाउनुलाई मात्रै राजनीति नमान्ने उनी आफू जस्ता लेखक, समीक्षकले कलमको माध्यमबाट सीधा राजनीति गरिरहेको ठोकुवा गर्छन् ।
हरेक लेखन राजनीतिक हुन्छ भन्ने मान्यता राख्ने उनै गुरुङ सुशान्तलाई कवि शकुन्तला जोशीले ‘इतर समीक्षा’ वरिपरि रहेर पाँच प्रश्न सोधेकी छन् । प्रस्तुत छ सुशान्तसँग शकुन्तलाको प्रश्नोत्तर:
– तपाईंको नवीन कृति ‘इतर समीक्षा’ भर्खरै बजारमा आएको छ, समीक्षाले कृति र स्रष्टालाई कुन रूपमा योगदान गर्दो रहेछ ?
समीक्षाले सामान्यतः कुनै रचनाबारे पाठकमाझ जिज्ञासा जगाउने काम गर्छ । सिर्जना या पुस्तक परिचयभन्दा माथि उठेको समीक्षाले चाहिँ विधागत, विषयगत र तथ्यगत आधारमा सम्बन्धित सिर्जनाका सबल र दुर्बल पक्षको विश्लेषण गर्दै मूल्य निरूपण पनि गर्छ । जिम्मेवार समीक्षाले भने कुनै रचनाले उठान गरेको विषयलाई सामाजिक, राजनीतिक, सांस्कृतिक परिप्रेक्ष्यमा बहस र विमर्शकै आह्वान गर्छ । र, आफ्नो विश्वदृष्टि र पक्षधरता पनि प्रकट गर्छ । यसरी जिम्मेवारीबोधका साथ लेख्ने हो भने समीक्षाले स्रष्टालाई आफ्ना कमजोरीप्रति घोत्लिने मौका दिन्छ ।
यस्ता समीक्षाले स्रष्टालाई आगामी लेखनका लागि प्रत्यक्ष मार्गदर्शन गर्नसक्छ । उदाहरणका लागि गोविन्द भट्टले ‘शिरीषको फूल’ उपन्यासको निर्मम समीक्षा गरेपछि पारिजातको लेखनमै आनका तान फरकमात्रै परेन, वैचारिक बाटो नै बेग्लै भयो । गम्भीर समीक्षाले स्रष्टा, पाठक र सिंगो वाङ्मयलाई नै योगदान गर्नसक्छ भन्ने दृष्टान्त त धेरै पाउन सक्छौँ । समीक्षा लेखनमा लामो समय खर्चे पनि म आफूले आफैंलाई फर्केर हेर्दा चाहिँ योगदान गर्ने तहमा भन्दा अभ्यासरत लेखकको रूपमा पाउँछु ।
– अहिले आख्यान तथा गैरआख्यान लेखनमा धेरैको रुचि छ, तपाईं आफैंले आख्यान वा गैरआख्यान नलेखेर किन समीक्षातिर काम गर्नुभएको हो ?
गैरआख्यान त लेखिरहेकै छु । निबन्ध र संस्मरणात्मक लेख लेखिरहे पनि पत्रिकामा कम छापिएका होलान् । बटुल्दा एउटा किताब त बनिहाल्छ । हतार नगरेकोमात्रै हो । समीक्षा पनि गैरआख्यानकै एउटा शाखा हो । आख्यान मेरो मनप्रिय विधा हो, तर अहिले नै यस विधामा मेरो लेखनको योजनाबारे घोषणा या भविष्यवाणी गर्न चाहन्नँ । बरु लेख्न सके त मलाई आख्यानभन्दा कविता विधाप्रति आकर्षण छ, तर अरुका राम्रा कविता पढेरै स्वाद लिइरहेको छु । कवितालाई उपल्लो सम्मान गर्ने भएकाले लेख्ने आँट गर्दिनँ, अचेल । उहिलेउहिले म पनि कविता लेख्थेँ भन्ने कुराले मात्रै पनि म मखलेल हुन्छु ।
– इतर समीक्षामा आख्यान, गैरआख्यान, सिनेमा, नाटक, संगीतलगायत विविध विधामाथि तपाईंले विभिन्न पत्रपत्रिकामा गर्नुभएको समीक्षाहरू छन् । समीक्षा नै गर्दा पनि किन यति धेरै विधामा बाँडिनुभयो तपाईं ?
मान्छेलाई रुचि र संगतको फन्दामा परेपछि उम्किन गाह्रो हुने रहेछ । गाउँमा रेडियो सुनेर हुर्कियो । त्यसले संगीतको लती बनायो । रेडियो नाटकले रंगमञ्चप्रति रुचि जगायो । गाउँतिर मसलाको पोकोमा बेरिएर आउने पत्रिकाका टुक्रामा झल्याकझुलुक पढ्न पाइने मुक्तकले कवितातिर आकर्षित गरायो । दाइहरूसँग मागेर पढेका यौन उपन्यासले खास उपन्यासतिर मोह जगाए । दाइहरूले पढ्ने ‘कामना’ म्यागजिनमा सिने कलाकारको ‘ग्ल्यामर’ ले सिनेमातिर रुचि बढाइदियो ।
समयक्रममा सिनेमा, साहित्य र संगीतको अम्मली बनेँ । त्यही अम्मलका कारण त्यतैत्यतै अलिअलि लेख्न थालेँ । पछिपछि साथीहरू र पत्रिकाका सम्पादकहरूले लेख्न अह्राएपछि निरन्तर लेखियो । यही नै हो वास्तविकता । यसमा घनघोर कारण छैनन् । एकै विधामा केन्द्रित भएर लेख्न सकेको भए राम्रो हुन्थ्यो भन्ने त लागिरहन्छ, तर आदत र साथीहरूबाट भाग्न मुस्किल छ ।
– यतिका कृति/रचनामाथि समीक्षा लेख्नुभयो, कुनै समीक्षा निकै कमसल लाग्छन्, कुनै भने निकै शक्तिशाली । केके कारणले यसरी फरक भएको होला ?
सिर्जनाको ल्याकतले समेत समीक्षाको ढाँचा, ढर्रा र भाषाशैलीमा फरकपन ल्याउनसक्छ । कतिपय सबल रचनाको कमसल समीक्षा भएको पनि हुनसक्छ । हाम्रै प्रिय र निकै अब्बल कविको कवितासंग्रहमा पनि सबै उही स्तरका कविता हुँदैनन् । त्यसरी नै समीक्षा पनि अध्ययन र अभ्यासले विकसित हुँदै जाने विधा हो । अर्को कुरा चाहिँ लेखनको समयले पनि फरक पार्दो हो । म चाहिँ दैवी प्रतिभा जस्तो आदर्शवादी कुरामा विश्वास गर्दिनँ । सबै लेखन रुचि, अवसर, अभ्यास, निरन्तरता र प्रतिबद्धताले खारिने होला । म पनि पढ्दै सिक्दैछु ।
– तपाई राजनीतिक रूपमा सचेत मानिस, सीधा राजनीतिमा प्रवेश नगरेर किन लेखनको बाटो समात्नुभयो ?
मैले लेखनबाट के गर्दैछु त, कविजी ? राजनीति नै त गर्दै छु नि ! स्वप्निल स्मृतिले पछिल्लो चरण कविताबाट के गर्दैछन् ? उत्तर सहज छ, राजनीति । तीर्थ गुरुङले ‘हिउँको गीत’ बाट आदिवासीको मौखिक इतिहासलाई अभिव्यक्त गरेर राज्यलाई लिखित इतिहासमात्रै पूर्ण होइन भनेका छन् । यो राजनीति नै हो ।
भोगीराज चाम्लिङहरू ‘मुन्दुम’ र आदिवासी दर्शनलाई राम्ररी सुन्ने हो भने समाजवादको यात्रामा अघि बढ्न सक्छौँ भन्दैछन् । यो सीधा राजनीति हो । म पनि लेखनबाट पहिचानको पक्षमा बोलिरहेकै छु । सीमान्तकृत वर्ग र समुदायको पक्षमा निरन्तर बोलिरहेकै छु, कलमबाट । यो कुनै बाङ्गो राजनीति होइन नि, सीधा राजनीति नै हो । दलमा बसेर झन्डा हल्लाउँदै ‘म झोले हुँ’ भन्नु मात्रै सीधा राजनीति होइन । पार्टी, झोला र झन्डा भनेका राजनीति अभिव्यक्त गर्ने फोरम र प्रतीकमात्रै हुन् । खास राजनीति भनेको विचार हो । हरेक लेखन राजनीतिक हुन्छ भन्ने मान्यता राख्ने हामी लेखेरै सीधा राजनीति गरिरहेका छौँ भन्न धक मान्नुहुँदैन ।

Leave a Reply