काठमाडौं । करिब एक वर्षअघि राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त भएका डा. मुकुल ढकाल फेरि सो पदमा फर्कने महत्वाकांक्षी प्रयासमा जुटेका छन् । निर्वाचन आयोगका एक शाखा अधिकृतको पत्र बोकेर उनले आफू महामन्त्री पदमा बहालै रहेको दाबी गर्न थालेका हुन् ।
रास्वपाले ढकाललाई गत वर्ष असार २५ गते अनुशासनको कारवाही गर्दै महामन्त्रीसहित पार्टीको सबै जिम्मेवारीबाट हटाएको थियो । केन्द्रीय समितिले गरेको सो निर्णयका सम्वन्धमा त्यतिबेलै निर्वाचन आयोगमा लिखित जानकारी गराइसकिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झा बताउँछन् । उनले गत वर्ष साउन १७ गते आफूहरुले आयोगमा दर्ता गरेको निवेदनसमेत सार्वजनिक गरेका छन् । रास्वपाले दिएको नयाँ विवरणमा महामन्त्री पद रिक्त रहेको छ ।
हेर्नुस् आयोगले दर्ता गरेको निवेदन
निर्वाचन आयोगले त्यतिबेलै निवेदन दर्ता गरेको भए पनि अहिलेसम्म विवरण अद्यावधिक नभएको बुझिएको छ । अद्यावधिक नगर्नुको कारण थाहा नभएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
‘हामीले गत वर्ष साउनमा नै सबै कागजातसहित आयोगमा निवेदन दिइसकेका हौं । आयोगले निवेदन दर्ता भएको जानकारी पनि हामीलाई त्यसबेलै गराएको हो । निवेदन दर्तापछि विवरण अद्यावधिक गर्ने काम आयोगका हो । आयोगले हामीलाई यस विषयमा केही पनि अपडेट गराएको छैन’, उनले नेपाल प्रेससँग भने ।
आफूहरुलाई हेरफेर भएको विवरण अनुसार काम गर्न भनिएको छर आयोगले पनि त्यही नयाँ विवरण अनुसार काम गर्ने सूचना दिएको झाको भनाइ छ ।
‘पार्टीको तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकाले हालसम्म किन अद्यावधिक गरिएन भन्ने जवाफ आयोगले नै दिनुपर्छ’, उनी भन्छन् ।
निस्काशित महामन्त्री ढकालले सूचनाको हक प्रयोग गरी निर्वाचन आयोगलाई गत असार ४ गते निवेदन लेख्दै रास्वपाको विवरण अद्यावधिक भए–नभएको विवरण माग गरेका थिए । त्यसको जवाफमा आयोगकी शाखा अधिकृत उषा गजमेरले पछिल्लोपटक २०८० चैत २० मा पार्टीको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको लिखित जानकारी गराएकी छन् ।
आयोगले विवरण अद्यावधिक गर्न बाँकी रहेको पत्र हात पारेपछि उत्साहित बन्दै ढकालले आफू महामन्त्रीमा कायम रहेको दावी गर्न थालेका हुन् । उनले पार्टीको वैठक डाक्नका लागि छलफल गर्नुपर्यो भन्दै कार्यावाहक सभापति डोलप्रसाद अर्यालसहितका केही नेताहरुलाई ह्वाट्सएपमार्फत पत्र पठाएका छन् । पत्रमा पार्टीको विधानअनुसार महामन्त्रीले वैठक डाक्नुपर्ने भएकाले यसका लागि छलफल गर्न उनको माग छ ।
रास्वपाका एक पदाधिकारीले ढकालको माग हास्यास्पद रहेको बताए ।
ती नेताले भने, ‘निर्वाचन आयोगको एकजना शाखा अधिकृतलाई प्रभावमा पारेर पत्र लेख्न लगाउँदैमा रास्वपा कब्जा गर्ने दिवा स्वप्न नदेख्दा हुन्छ । यो पार्टी त्यति कमजोर धरातलमा उभिएको छैन ।’
ढकालको पत्रबारे पार्टीमा कुनै छलफल नभएको र नहुने पनि ती पदाधिकारीको भनाइ छ ।
निर्वाचन आयोग स्रोतले रास्वपाको विषयमा अहिले उच्च तहमा कुनै छलफल वा निर्णय नभएको बतायो ।
‘आरटीआइ अन्तरगत निवेदन आएपछि शाखा अधिकृतले जवाफ दिनुभयो होला । यो विषयमा अहिले केही पनि भएको छैन,’ आयोगका एक पदाधिकारीले भने ।

Leave a Reply