काठमाडाैं। बलिउड अभिनेत्री काजोल आफ्नो नयाँ चलचित्र ‘माँ’को प्रचारका क्रममा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी छन्। उनले संचारकर्मीसँगको संवादका क्रममा हैदरावादस्थित रामोजी फिल्म सिटीलाई ‘भूत घर’ भनेपछि विवादमा तानिएकी हुन् ।
उनले भनेकी थिइन्, ‘कहिलेकाहीँ कुनै कुनै ठाउँमा गएपछि अनौठो महसुस हुन्छ । मैले रामोजी फिल्म सिटीमा त्यही अनुभव गरेकी छु, जहाँ म रातभर सुत्न सकिनँ । अनि त्यहाँबाट छिटोभन्दा छिटो बाहिर निस्कनु नै ठिक लागेको थियो ।’
उनले अगाडि भनेकी थिइन्, ‘रामोजी फिल्म सिटीलाई संसारकै सबैभन्दा भुतिया स्थानहरुमध्ये एक मानिन्छ । यद्यपि म भाग्यमानी रहेँछु, मैले कुनै अप्रिय घटना व्यहोर्नु परेन ।’
काजोलले यस्तो अभिव्यक्ति दिएपछि हैदरावादबासीहरुले काजोलको विरोध गरिरहेका छन् । रामोजी फिल्म सिटीको गौरवमाथि नै आँच आउने गरी गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै काजोलको आलोचना गरिरहेका छन् । यस्तो खालको प्रचार सिर्फ सस्तो प्रचार शैली भएको भन्दै सामाजिक संजालमा समेत उनको आलोचना भइरहेको छ ।
यही जुन २७ बाट उनको चलचित्र ‘माँ’ प्रदर्शन हुँदैछ । तर, विवादित अभिव्यक्तिले चलचित्रको व्यापारलाई असर गर्ने भन्दै निर्माताहरु चिन्तित देखिएका छन् ।
काजोलले उल्लेख गरेको रामोजी फिल्म सिटी हैदरावादको बाहिर क्षेत्रमा अवस्थित छ । संसारकै सबैभन्दा ठूला फिल्म स्टुडियोमध्ये रामोजी पनि एक हो । झण्डै दुई हजार एकड क्षेत्रफलमा फैलिएको यो कम्प्लेक्स सन् १९९६ मा दिवंगत निर्माता तथा व्यवसायी रामोजी रावद्धारा स्थापना गरिएको थियो ।

Leave a Reply