काठमाडौं । छपाइ बाँकी रहेका २४ लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ अब सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यातायात व्यवस्था विभाग र केन्द्रबीच लाइसेन्स यससम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो ।
विभागका आईटी डाइरेक्टर केशव खतिवडाले लाइसेन्समा भएको १९ वटा फिचरमध्ये ४ वटा फिचर मुद्रण केन्द्रको छपाइमा नहुने बताएका छन् ।
उनले भने, ‘अहिले करिब ३० लाख लाइसेन्स छाप्न बाँकी छ । विभागसँग ६ लाख कार्ड छाप्ने कार्ड छ । भने २४ लाख लाइसेन्स छपाइ गर्ने कार्ड पनि छैन । अब बाँकी रहेको लाइसेन्स केन्द्रले छाप्ने छ । केन्द्रले २४ लाख लाइसेन्स करिब २ महिनामा नै छपाइ गरेर दिने भनेको छ ।’
उनका अनुसार हाल लाइसेन्समा भएका प्वाल जस्तो देखिने, छाम्दा अक्षर भएको अनुभव हुने, लेखाइमा फरकपन भने हुने छैन । चिप्सको ठाउँमा क्युआर कोर्ड प्रयोग हुनेछ ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले केन्द्रले नमूना लाइसेन्स छपाइ सुरू गर्ने तयारी गरेको बताए ।
उनले भने, ‘हाल लाइसेन्समा भएका केही फिचर हट्ने छन् । भने केही थप हुने छन् । हाल विभागले प्रिन्ट गरेको लाइसेन्समा १९ वटा फिचर रहको छ । हामीले प्रिन्ट गर्दा त्यसमध्ये केही फिचर हामीसँग छैनन् । नभएको फिचरको विकल्पमा हामी अन्य फिचर राख्नेछौँ । विभागले प्रिन्ट गरेको लाइसेन्समा १९ वटा फिचर छ । हामीले प्रिन्ट गर्ने लाइसेन्समा २३ वटा फिचर हुने छ । लाइसेन्स छपाइमा समय नलाग्ने र त्यसको फिनिसिङ र कटिङ लगायतका काममा केही समय लाग्नेछ ।’
केन्द्रले १ देखि २ महिनामा छपाइ गरिसक्ने उनले बताए । हाल एउटा लाइसेन्स कार्डसहित गरेर प्रिन्टमा २.२५ डलर लागत लाग्ने छ । केन्द्रले लाइसेन्स छाप्दा त्यो भन्दा सस्तो पर्ने बताइएको छ ।
केन्द्रको सञ्चालक समितिले छपाइको शुल्क तोक्नेछ । नेपालसँगै भएको प्रविधि र मेसिन प्रयोग गरेर लाइसेन्स छपाइ गर्दा रकम पनि स्वदेशमै रहने अधिकारीहरू बताउँछन् ।

Leave a Reply