काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा पूर्णरूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउने भएको छ।
विद्यार्थीका लागि अनलाइन सेवा प्रणालीलाई विस्तार गर्दै परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा पूर्णरूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउने भएको हो ।
पनिकाका अनुसार अब त्रिवि रजिष्ट्रेशन, परीक्षा आवेदन, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुनर्योगका लागि आवेदन, शैक्षिक कागजात सच्याउने, सिफारिस पत्र, प्रमाणीकरण तथा प्रमाणपत्रका प्रतिलिपि आवेदन फारामहरू अनलाइनमार्फत नै भर्न सकिने छन्।
ईआइएमएस प्रणाली अन्तिम चरणमा पुगेकाले असार १५ गतेदेखि यी सेवा त्रिविको वेबसाइटबाट लगइन गरी सजिलै प्राप्त गर्न सकिने पनिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रविधिको अधिकतम प्रयोग गर्दै सेवा प्रवाहलाई छरितो र प्रभावकारी बनाउने प्रयास भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। ‘देशभरबाट वार्षिक पाँच लाखभन्दा बढी विद्यार्थीले सेवा लिने भएकाले व्यवस्थापनलाई अनलाइनमार्फत सहज बनाइएको हो।’ विज्ञप्तिमा भनिएको छ ।
हाल त्रिविमा देशभरको करिब ८० प्रतिशत विद्यार्थी अध्ययनरत छन्। ती सबैका लागि आवश्यक पर्ने लब्धाङ्कपत्र, ट्रान्सक्रिप्ट, प्रमाणपत्र लगायतका कागजातलाई सुरक्षित राख्ने, अभिलेख राख्ने र परीक्षा प्रणालीमा गोपनीयता कायम राख्न कार्यालय प्रतिबद्ध रहेको जनाइएको छ।
२०७५ सालदेखि नै त्रिविले दीक्षान्त फाराम तथा ट्रान्सक्रिप्टलाई अनलाइनमार्फत उपलब्ध गराउँदै आएको थियो। २०७९ माघ १५ देखि अनलाइन आवेदन फाराम सुरु गरिएको भए पनि प्राविधिक कारण केही समय बन्द भएको यो सेवा पुनः सुचारु हुने जनाएको छ।

Leave a Reply