आरिफ र भीमको सरप्राइज ब्याटिङ, नेदरल्यान्ड्सविरुद्ध नेपालको धाक

काठमाडौं । तेस्रो सुपरओभरमा पराजित भएको तीन दिनपछि नै नेपालले त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सँग मिठो बदला लिएको छ । हिजो भएको खेलमा ६ विकेटको जित निकाल्दै नेपालले जारी प्रतियोगितामा विजेता बन्नसक्ने बलियो दावेदारीसमेत प्रस्तुत गर्‍यो ।

नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य कमजोर थिएन, तर नेपालको ब्याटिङले त्यसलाई सर्लक्कै निलिदिएको छ । यद्यपि, ‘कार्डियाक किड्स’ को छविलाई काम राख्दै नेपाली टीमले अन्तिम क्षणमा फ्यानहरूलाई धुकचुक बनाउन भने चुकेनन् । खेल अन्तिम बलसम्म नपुगे पनि अन्तिम ओभरको चौथो बलसम्म पुगेको थियो ।

प्रमुख तीन खेलाडीहरू घाइते भएर प्रतियोगिताबाट बाहिरिएता पनि नेपाली टीम नेदरल्यान्ड्समाथि हावी हुन सफल भयो । अस्तिको तुलनामा हिजोको पीच ब्याटिङका लागि धेरै सहज थियो, जहाँ नेपाली बलरले नेदरल्यान्ड्सलाई १७५ रनमा रोक्न सफल भए । एक समय नेदरल्यान्ड्स २०० रन कटाउने दिशामा देखिएको थियो, तर नेपाली बलरहरूले उत्कृष्ट कमब्याक गर्दै खेललाई नियन्त्रणबाहिर जान दिएनन् ।

नेपाली बलरहरूको कुरा गर्दा दीपेन्द्रसिंह ऐरी सर्वाधिक सफल बने । स्पिनरलाई त्यति धेरै अफर नरहेको पीचमा पनि उनले कसिलो बलिङ गर्दै दुई महत्वपूर्ण विकेट लिए । एकजना मात्रै विशेषज्ञ फास्ट बलर खेलाएको नेपालले फरक रणनीतिका साथ स्पिनर ललित नारायण राजवंशीलाई पहिलो ओभरमै बलिङमा उतारेको थियो । र, उनले पहिलो ओभरमै विकेट निकालेर पनि दिए ।

चौथो ओभरमा दीपेन्द्रसिंह ऐरीलाई बलिङमा ल्याए कप्तानले । उनले त झन् पहिलो बलमै विकेट लिएर नेदरल्यान्ड्सविरुद्ध दवाव बनाए । यस्तै, दीपेन्द्रलाई पछ्याउँदै पार्ट टाइम पेस बलर रुपेश सिंहले पनि पहिलो बलमा लिए । छैटौं ओभरको अन्तिम बलमा नोय कार्स रनआउट भएपछि नेदरल्यान्ड्स ४५ रनमा ४ विकेटको स्थितिमा खुम्चियो । तर, त्यसपछि भने नेदरल्यान्ड्सले नेपालको सातो उडाउँदै गम्भीर काउन्टर अट्याक गर्‍यो ।

अर्को इन्डबाट विकेट झरिरहँदा एउटा इन्डमा डटिरहेका नेदरल्यान्ड्सका ओपनिङ ब्याट्सम्यान नेपालका दुई स्पिनर सन्दीप लामिछाने र ललित राजवंशीलाई टार्गेट गरे । सातौं ओभरमा सन्दीपलाई दुई छक्का हानेका उनले आठौं ओभरमा ललितलाई पनि एक छक्का र एक चौका प्रहर गरे । सन्दीपले आफ्नो दोस्रो ओभरमा पनि १६ रन खर्चिए । यता करण केसीले पनि रनको फ्लो रोक्न सकेनन् । फलतः नेदरल्यान्ड्सले १० ओभरमा ९९ रन बटुल्न एकाएक खेल आफ्नोतर्फ मोड्न सफल भयो । हातमा ६ विकेट सुरक्षित थिए ।

तर, बाँकी १० ओभरमा नेपालका बलरहरू फेरि आफ्नो लयमा फर्किए र नेदरल्यान्ड्सका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । सन्दीपले १२ ओभरमा पहिलो विकेट लिए भने १५ औं ओभरमा करणले डबल स्ट्राइक गरेपछि नेदरल्यान्ड्स १२९ रनमा ७ विकेटको कमजोर स्थितिमा खस्किन पुग्यो । करणले ८५ रन बनाएर खेलिरहेका माइकल लेभिटलाई रोहित पौडेलको हातबाट क्याचआउट गराउँदै खेललाई नेपालको पक्षमा मोडेका थिए । यद्यपि, नेदरल्यान्ड्सका अलराउन्डर रुलोफ भान डेर मर्वेले सातौं नम्बरमा आएर आक्रामक ब्याटिङ गर्दै टीमलाई १७४ रनको बलियो स्कोरमा पुर्याउन सफल भए । उनले २१ बलमा चार चौका र १ छक्कासहित ३६ रन हानेर अविजित रहे ।

ब्याटिङमा नेपालले फेरि पुरानै जोडी कुशल भुर्तेल र आसिफ शेखलाई ओपनिङ गर्न पठाएको थियो । तर, आसिफ आज पनि चलेनन् । खराब फर्मको झल्को दिँदै उनले ब्याटिङमैत्री पिचमा ६ बल खेलेर ७ रन मात्रै जोड्न सके । ठिक विपरीत उत्कृष्ट लयमा रहेका अर्का ओपनर कुशलले नेपाललाई अगाडि बढाए । उनले एंकर इनिङ खेल्दै जितको आधारशीला खडा गरेका थिए । कुशलले धैर्यतापूर्वक ब्याटिङ गर्दै ५१ बलमा ६ चौका सहयोगले ६५ रन जोडे ।

नेपालले आज टीममा तीन परिवर्तन गरेको थियो । विकेटकिपर ब्याट्सम्यान अनिल साहको स्थानमा आसिफलाई ल्याइएको थियो भने यसअघि दुई म्याचमा स्थान पाएका युवा किरण ठगुन्ना र अलराउन्डर बसिर अहमदलाई बेन्चमा राखेर आरिफ शेख र भीम सार्कीलाई प्लेइङ ११ मा राखिएको थियो । आरिफ र भीमलाई टीममा समावेश गर्नु नेपालका लागि सही निर्णय सावित भयो ।

खासमा यी दुवै ब्याट्सम्यान रक्षात्मक ब्याटिङका लागि चिनिँदै आएका छन् । त्यसैले उनीहरूलाई नेपालले वान डे टीममा मात्रै खेलाउँदै आएको छ । यसपटक गुल्शन झा र सोमपाल कार्मी घाइते नभएको भए वा नयाँ खेलाडीह चलेको भए उनीहरूले सायद मौका पाउँथेनन् । तर, दुवै खेलाडीले पाएको मौकाको सदुपयोग मात्र गरेनन्, नेपालको जितमा ठोस योगदान पनि दिए । भीम र आरिफ टी २० का लागि बनेका होइनन् भन्ठान्नेहरू मुर्ख सावित भएका छन् ।

नेपालको ब्याटिङ लाइन अपमा सर्वाधिक राम्रो स्ट्राइक रेट नै यी दुईको छ । कुशल भुर्तेलले एक इन्डबाट एंकर रोल निभाइरहँदा भीम र आरिफले विष्फोटक ब्याटिङ गर्दै खेललाई नेपालको पकडमा ल्याएका थिए । उनीहरूको ब्याटिङ शैली पनि हेर्न लायक थियो । दुवैले स्लग स्वीप र रिभर्स स्वीपबाट रन बटुल्दै आफूहरू टी २० मा पनि उत्तिकै फिट हुन सक्ने जनाउ दिए । यो एकप्रकारको सरप्राइज थियो नेपाली दर्शकका लागि ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका भीम १६ बलमा ३७ रनको केमियो इनिङ खेल्दै आउट भए । उनले दुई चौका र १ चौका प्रहार गरे । यस्तै, पाँचौ नम्बरमा आएका आरिफले आफ्नो वान डे फर्मलाई निरन्तरता दिँदै फेरि एकपटक उत्कृष्ट ब्याटिङको नमूना देखाए । उनको ब्याटबाट २३ बलमा ३९ रन निस्किएको थियो, जसमा २ छक्का र ३ चौका समावेश छन् । तर, उनी १९ ओभरको अन्तिम बलमा रिटायर्ड हर्ट भएर बाहिरिनुपर्‍यो, जसले गर्दा नेपाली खेमामा अलिकति तनाव थपिएको थियो ।

नेपाललाई अन्तिम ओभरमा ७ रन चाहिएको थियो । नेपालसँग ब्याट्सम्यानहरू जति पनि थिए । ब्याटिङ गर्न आए लोकेश बम । यसअघि दुई खेलमा ओपनरका रुपमा पठाइएका बमलाई आज गेम फिनिस गर्ने अवसर मिल्यो । उननले पहिलो बलमै छक्का हानेर स्कोर बराबरीमा ल्याए । जितका लागि एक रन मात्रै चाहिँदा उनले विकेटमा दौडिरहने झण्झट गरेनन् । बरु अर्को छक्का हिर्काए ।

यो जितसँगै नेपालले अस्ति नेदरल्यान्ड्सविरुद्ध व्यहोरेको तनावपूर्ण हारमा मल्हमपट्टी लगाएको छ । अब श्रृंखलाको अन्तिम म्याच नेपालले आज स्कटल्यान्डविरुद्ध खेल्दै छ । घरेलु टोलीलाई दोस्रो पटक हराएमा नेपाल श्रृंखला विजेता बन्दै एउटा महत्वपूर्ण भ्रमणको शानदार समापन गर्ने छ । त्यसका लागि नेपाली खेलाडीहरू मात्र होइन, दर्शकहरू पनि पूर्ण आत्मविश्वासी छन् ।

स्कटल्यान्ड र नेदरल्यान्ड्सजस्ता टप एसोसिएट्स राष्ट्रहरूविरुद्ध नेपालले जस्तो खेल देखाइरहेको छ, त्यो पक्कै पनि गर्वगर्न लायक छ । आजको नतिजा जे आए पनि खेलाडीहरू शिर उँचो गरेर घर फर्किनेछन् र लिग २ को अर्को श्रृंखलाको तयारीमा जुट्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *