ल्हासा महावाणिज्य दूतावासको कार्यक्रममा चीनतर्फ जस्तो सीमा पूर्वाधार नभएको मुस्ताङको दुःखेसो

काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया गर्दा चीनतर्फ जस्तो सीमा पुर्वाधार नेपालतर्फ नभएको गुनासो आएको छ ।

सहभागीहरुले कोरोला नाकामा चीनतर्फ अत्यन्त राम्रो पूर्वाधार निर्माण भएर अध्यागमन र भन्सार कार्यालयहरु स्थापित भई सेवासमेत सुचारु गरिसकेका तर नेपालतिर भने प्रदेश सरकारले निर्माण गरेको ४ कोठे प्रिफ्याब भवन रहेको तर पानी र बिजुली जस्ता न्यूनतम पूर्वाधार समेत नभएको, कर्मचारी अभाव रहेको र अध्यागमन कार्यालयको उद्घाटन गरे पनि हालसम्म सेवा सुचारु नभएको हुँदा व्यापार व्यवस्थित हुन नसकेको बताएका थिए ।

त्यसैगरी उनीहरुले माथिल्लो मुस्ताङ निषेधित क्षेत्रमा रहेको र जुनसुकै विदेशी नागरिक उक्त क्षेत्रमा प्रवेश गर्दा न्यूनतम ५०० डलर तिर्नु पर्ने, सोही रकम तिरेरै चीनतिरबाट प्रवेश गर्न चाहनेले अध्यागमन सेवा नरहेकाले नाकामा रकम तिरेर प्रवेश गर्न पनि नसक्ने अवस्था रहेकाले नाकामा एकीकृत पूर्वाधार निर्माण गरी तत्काल अध्यागमन, भन्सार र क्वारेन्टाइन जस्ता सेवा शुरु गर्न, विदेशी नागरिकका लागि माथिल्लो मुस्ताङ प्रवेश सहजीकरण गर्न अनुरोध गरेका थिए ।

लोमान्थाङमा भएको अन्तरक्रियामा लोघेकर दामोदरकुण्डका अध्यक्ष राजु बिष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नुर्बु, लोमान्थाङकी उपाध्यक्ष, दुवै गाउँपालिकाका वडाध्यक्षहरु तथा कोरोला नाकाबाट व्यापार व्यवसाय गर्ने व्यवसायीहरुको सहभागिता रहेको थियो भने जोमसोममा भएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी श्री बिष्णुप्रसाद भुसाल, मुस्ताङ जिल्लाका चार वटा गाउँपालिकाका अध्यक्षहरु, समाजसेवी तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।

दुबै कार्यक्रमलाई सम्बोधन गर्दै ल्हासास्थित एकमात्र विदेशी नियोगक नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले छलफलमा उठेका विषयहरुको समाधानका लागि महावाणिज्यदूतावासका तर्फबाट चिनियाँ र नेपाली दुबै पक्षसँगको समन्वयमा अधिकतम प्रयास गर्ने बताए ।

निरौलाले चीनको सिजाङ स्वायत्त क्षेत्रको ड्रोङ्पामा त्यहाँका भन्सार, अध्यागमन, स्थानीय निकाय र पोर्ट ब्यवस्थापन कार्यालयका उच्च अधिकारीहरुसँग छुट्टै छलफल तथा अन्तरक्रिया गरेका थिए । उक्त अवसरमा चीन र नेपाल दुबै पक्षले कोरोला नाका व्यवस्थापनका निम्ति आ आफ्ना तर्फबाट पहल गरी नाकालाई सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरिएको महावाणिज्यदूतावासले जानकारी दिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *