सुर्खेतको कोपिला भ्याली स्कुल विश्वका उत्कृष्ट १० विद्यालयमा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको कोपिला भ्याली स्कुलले विश्वकै उत्कृष्ट १० विद्यालयको सूचीमा स्थान बनाएको छ।

बेलायतस्थित टी–४ एजुकेसनले सन् २०२५ का लागि आयोजना गरेको ‘वर्ल्ड्स बेस्ट स्कुल प्राइज’ अन्तर्गत ‘पर्यावरणीय पहल’ विधामा कोपिला भ्याली स्कुल शीर्ष १० मा पर्न सफल भएको हो।

विद्यालयले वातावरणमैत्री अभ्यासलाई शिक्षा प्रणालीसँग जोड्दै ‘ग्रीन स्कुल’को अवधारणामा आधारित शैक्षिक मोडेल विकास गर्दै आएको छ।

अति विपन्न ४ सय भन्दा बढी बालबालिकालाई गुणस्तरीय शिक्षा दिँदै आएको यस विद्यालयले वातावरणीय संरक्षण र समुदायसँगको सहकार्यमा उदाहरणीय काम गर्दै आएको मानिएको छ।

सन् २०२२ मा सुरु गरिएको ‘वर्ल्ड्स बेस्ट स्कुल प्राइज’ले शिक्षाको माध्यमबाट विद्यार्थीको जीवनमा सकारात्मक प्रभाव पार्ने विद्यालयहरूको पहिचान गर्छ।

प्रतियोगितामा सामेल विद्यालयहरूलाई पाँच विधामा मूल्यांकन गरिन्छ । समुदायसँगको सहकार्य, वातावरणीय संरक्षण, नवप्रवर्तन, कठिनाइ जित्ने क्षमता र स्वस्थ जीवनशैली प्रवर्द्धन।

यी पाँच विधामा उत्कृष्ट १० मा स्थान बनाएका ५० विद्यालयमध्ये ‘कम्युनिटी च्वाइस अवार्ड’का लागि अनलाइन मतदान पनि खुला गरिएको छ। विजेताहरूको घोषणा अक्टोबरमा हुनेछ भने उनीहरूलाई नोभेम्बर १५–१६ मा युएईको अबुधाबीमा आयोजना हुने वर्ल्ड स्कुल समिटमा आमन्त्रित गरिनेछ।

टी–४ एजुकेसनका संस्थापक विकास पोटाले कोपिला भ्याली स्कुललाई बधाई दिँदै यस्तो प्रेरणादायी विद्यालयबाट विश्वका अन्य शिक्षालयले धेरै सिक्न सक्ने बताएका छन्।

कोपिला भ्याली स्कुल नेपालबाट वर्ल्ड्स बेस्ट स्कुल प्राइजको फाइनलसम्म पुग्ने पहिलो विद्यालय हो।

Comments

One response to “सुर्खेतको कोपिला भ्याली स्कुल विश्वका उत्कृष्ट १० विद्यालयमा”

  1. Ram Raj Avatar
    Ram Raj

    Let’s vote and ensure the winning 🏆💚☘️🏫
    कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित यस कोपिला भ्याली स्कुलले औपचारिक शिक्षणका साथसाथै Green School रूपमा अघि बढाइएको वातावरणीय पहललाई अन्तर्राष्ट्रिय पहिचान प्राप्त भएको छ। यो हामी सबै नेपालीहरूका लागि गौरवको कुरा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *