काठमाडौं । संघीय निजामती सेवा विधेकयलाई संसदको कार्यसूचीमा राख्न प्रमुख प्रतिपक्ष दलले ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठक सुरु भएलगत्तै विशेष समयमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सभामुख देवराज घिमिरेमार्फत सरकारको ध्यानकर्षण गराएका हुन् ।
उनले भने, ‘हामीले प्रमुख विपक्षी दलको तर्फबाट पनि संघीय निजामती सेवा विधेयक सँगसँगै विद्यालय शिक्षा विधेयक, नागरिकतासँग सम्बन्धित विधेयक लगातार सदनबाट जाउन र सँगसँगै बजेटमाथी पनि छलफल होस् भनेर सदन सुचारु हुन दियौँ, तर आजको कार्यसूचीमाा राखिएन । त्यसैले तत्काल यो विधेकयलाई कार्यसूचीमा राखेर अघि बढाउनका लागि सम्माननीय सभामुखमार्फत सरकारको गम्भिर ध्यनाकर्षण गराउन चाहान्छु ।’
प्रमुख सचेतक पाण्डेले सरकारले संघीय निजामती सेवा विधेयक तत्काल प्रस्तुत गरेर पारित गर्ने मुखले भनिरहेको भए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताए ।
उनले भने, ‘सरकार भन्छ एकातिर, यो विधेयक चाडैँ प्रस्तुत गर्ने हो, छिटो ल्याउने हो, तर भन्छ एउटा कुरा, व्यवहारमा अर्को काम गरिरहेको छ । यसै कारण सरकारलाई यो विधेयक अबिलम्ब पारित गरेर देशमा भएको निजामती कर्मचारीमाथी मात्रै होइन, समग्र स्थानीय सरकार, प्रदेश सरकार सबैको समस्या हल गर्नुपर्छ । यो कुरा फेरी पनि म प्रमुख प्रतिपक्ष दलको तर्फबाट सम्माननीय सभामुखमार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउदछुँ ।’
‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लामो समयदेखि संसदमा रोकिएको छ । उक्त विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट उपसमितिमा पुगेर फेरी समितिमा आएर प्रतिनिधि सभामा प्रस्तुत पनि भइसकेको छ ।
विधेयक २०८० फागुन २१ मा सदनमा दर्ता भएको थियो । २०८० चैत २१ गते प्रतिनिधि सभामा विचार गरियोस् भनेर सदनमा सैद्धान्तिक छलफल भएको थियो । २०८१ जेठ १५ गते सदनबाट समितिमा पठाइएको थियो ।
समितिबाट पारित भएपछि २०८२ असार १ गते राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिनिधि सभामा पेश गरेका थिए । त्यसपछि यहिँ असार ३ गते प्रतिनिधि सभामा विधेयकमाथी छलफल गर्ने कार्यसूची पनि तय भएको थियो । तर, त्यो दिन प्रतिनिधि सभा सूचारु हुन नसकेपछि कार्यसूचीबाट हटाइएको थियो ।

Leave a Reply