काठमाडौं । रास्वपाले पार्टीका सांसद सुमना श्रेष्ठमाथि लागेको आरोपको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
आज बसेको सचिवालय बैठकले प्रा.डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको प्रवक्ता मनिष झाले बताए। समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्वएसएसपी लव विष्ट सदस्य रहेका छन्।
बैठकपछि प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको” भन्ने भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। पार्टीले यसलाई संसदको रोष्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित शृङ्खलाको एक हिस्सा मानेको छ। पार्टीले स्पष्ट गर्दछ कि यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन । तथापि, पार्टीमा आबद्ध कुनै व्यक्ति संलग्न भए/नभएको यकिन गर्न प्रा।डा। चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।’
श्रेष्ठमाथि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध नक्कली पीडित खडा गरेर उजुरी गर्न लगाएको आरोप लागेको छ। गृहमन्त्री लेखकले आफूविरुद्ध कृते उजुरीको प्रयास भएको भन्दै संलग्नलाई कारबाही गर्ने संसदको रोष्ट्रमबाटै चेतावनी दिएका थिए।
बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको झुट्टा र प्रतिशोधपूर्ण मुद्दाको वर्तमान अवस्था र भिजिट भिसा काण्डमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भएको उनले बताए।
उनले भने, ‘उक्त मुद्दा विरुद्ध पार्टी एकढिक्का भएर अघि बढ्ने तथा भिजिट भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने ।’

Leave a Reply