रूपन्देही । गुल्मीको धुर्कोट गाउँपालिका- ६ सिस्तुङका मेघनाथ अर्याल विदेशको चकाचौंध र सहरको चमकदमक छोडेर गाउँ फर्किएका छन् । गाउँ फर्किएर माटोमा पसिना बगाएर समृद्धितर्फ लम्किएका छन् ।
गाउँ फर्कनु अगाडि उनले कोरियामा तीन वर्ष पसिना बगाए, बुटवलमा १६ वर्ष श्रम गरे । अन्ततः विदेशको मोह त्यागे, सहर छाडे र बुटवलबाट गाउँ फर्किएर सुरु गरे कृषि र पशुपालन ।
गाउँमा मेहनती किसानको परिचय बनाएका उनी स्थानीय उत्पादनलाई ब्रान्डमा रूपान्तरण गर्ने अभियन्ता पनि बनेका छन् । उनको परिश्रमको प्रतिफल हो- ‘धुर्कोटे चामल’ । धुर्कोटे ब्रान्डको चामल पहाडको खेतबारीबाट नेपाली बजारमा आइपुगेको छ ।
४०० मुरी धान फलाएर पाए सम्मान
गत वर्ष मेघनाथले ७२ रोपनी आफ्नो र ४२ रोपनी लिजमा लिएको खेतमा ४०० मुरी धान फलाएर देशभर नै चर्चा बटुले । पहाडी जिल्लामा यो परिमाणको उत्पादन विरलै पाइन्छ । एक दिनमै पञ्चेबाजासहित ९२ खेताला, २७ ठिँगारे र तीन ठूला ट्याक्टरको प्रयोग गरेर १०० रोपनीमा रोपाइँ गर्दा गाउँमात्रै होइन, सिंगो जिल्ला र आसपासका किसानले सम्मान महसुस गरे । विभिन्न मिडियाले त्यो कार्यक्रमको प्रत्यक्ष प्रशारण गरे, विभिन्न क्षेत्रका कलाकारहरू पुगेर दिनभर रमाइलो गरे । स्थानीय जनप्रतिनिधिले मेघनाथको काममा हौसला र उत्साह थपेपछि उनको चर्चा झन् चुलिएको हो ।
‘मैले हरेक कुरामा सम्भावना देख्छु, त्यो सम्भावनामा श्रम मिसाउँछु । गाउँमा गरेर खान सकिन्न भन्ने मान्यता मेरो छैन’, अर्याल भन्छन् । त्यसकै परिणामस्वरूप, धुर्कोट गाउँपालिकाले उनलाई ६७ हजार रूपैयाँ नगदसहित सम्मान गर्यो ।
गाउँपालिकाले प्रत्येक वर्ष कृषि क्षेत्रका उत्कृष्ट उत्पादनकर्तालाई विभिन्न विधामा सम्मान गर्दै आएको छ । धानतर्फ अर्यालको योगदानलाई सबैभन्दा उदाहरणीय ठहर गर्दै सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल आफ्नो क्षेत्रमा अर्यालको मेहनतलाई सधैँ सम्मान गरेको बताउँछन् ।
ब्रान्ड बन्दै ‘धुर्कोटे चामल’
अर्यालको उत्पादन ‘धुर्कोटे चामल’ २५ किलोको प्याकेटमा बजारमा आएको छ । मूल्य २ हजार ५०० रूपैयाँ तोकिएको छ । प्याकेजिङ, ब्रान्डिङ र लेबलिङको कार्यमा धुर्कोट गाउँपालिका र हेफर नेपालले सहयोग गरेका छन् ।
चामलको गुणस्तर प्रमाणीकरण (नापतौल तथा गुणस्तर विभागको प्रक्रिया) पार गरेर व्यावसायिक बजारमा प्रवेश गरेको मेघनाथ बताउँछन् । उनका अनुसार अहिले सामाजिक सञ्जालबाटै धुर्कोटे चामल अर्डर गर्नेहरूको लाइन लागेको छ ।
‘अहिलेलाई आफ्नै खेतबाट उत्पादन भएको धानको मात्रै ब्रान्डिङ गरेको छु । बजारको अवस्था हेरेर बाँकी तयारी गर्ने हो’, उनले नेपालप्रेससँग भने, ‘अर्को वर्ष अरु किसानको किन्ने सोचमा छु, तर माग धेरैतिरबाट आयो ।’
धुर्कोट गाउँपालिकाका अध्यक्ष पोखरेलले ‘धुर्कोटे चामल’ गाउँको गौरव बनिसकेको सुनाए । ‘यसले केवल कृषकको आत्मबल बढाएको छैन, अब धुर्कोटलाई चामल उत्पादनको ‘हब’को रूपमा पनि चिनाउन सकिने अवस्था बनाउँदैछ’, उनले भने ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट सबै प्रक्रिया पूरा गरेर चामल बिक्री वितरण सुरु गरिएको पोख्रेलले बताए । उनले पालिकाले प्रविधि, उद्योग सञ्चालनसँगै चामल प्याकेजिङ तथा बजारीकरणमा सहयोग गरेको जानकारी दिए ।
धान खेतीमा सफल अर्यालले भैंसीपालनको दायरा पनि बढाएका छन् । उनको फार्ममा भारतबाट ल्याइएका ४२ वटा मुर्रा जातका भैँसी छन्, जसमा २२ वटा दूध दिने छन् । अहिले दैनिक १०० लिटरभन्दा बढी दूध उत्पादन भइरहेको उनको भनाइ छ ।
करिब एक करोड रूपैयाँको लगानी भएको फार्ममा स्थानीय २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अर्याल भन्छन्, ‘श्रम सही दिशामा लगाउन सके गाउँमै पनि सम्भावना छ । मलाई खुशी यो लाग्छ कि म अरुलाई रोजगारी दिनसक्ने अवस्थामा पुगेको छु ।’
उत्पादनसँगै बजारीकरण
अर्याल उत्पादनपछि केवल खेतमा बस्दैनन्, बजारसम्म पुग्न सकेन भने मेहनत खेर जान्छ भन्ने बुझेर क्रियाशील रहे । त्यसैले लेबल डिजाइनदेखि प्याकेजिङ, मूल्य निर्धारण र बजार सञ्जाल विस्तारसम्म आफैं सक्रिय भए । उनले चामलबाहेक मकैको आटा, कोदोको उत्पादन र तयसको बजारीकरण गर्ने योजना बनाइसकेको बताए ।
‘हामीले उत्पादन गरेरमात्रै पुग्दैन । त्यसलाई ब्रान्डमा रूपान्तरण गर्नुपर्छ । उपभोक्ताले चिन्नसक्ने बनाउनुपर्छ’, उनी थप्छन् ।
अर्यालको गाउँ फर्कने यात्रा सजिलो थिएन । कोरियामा काम गरेर फर्किएपछि उनले बुटवलमा व्यावसायिक जीवन सुरु गरे, तर त्यो जीवनको घेराभन्दा बाहिर केही गर्न सकेनन् । ‘बुटवलमा बस्दा दैनिक जीवन धानिन्थ्यो, तर त्यहाँ मलाई सिर्जना, सम्भावना र आत्मसन्तुष्टि थिएन’, उनी भन्छन् ।
अन्ततः २०७७ सालमा गाउँ फर्किए । सुरुमा आलोचना पनि भयो, तर उनले आफ्नो यात्रालाई रोकेनन् । बाँझो खेत लिजमा लिए । मल, बीउ, औजार र मिस्त्रीको मद्दतमा बाँझो खेतलाई उब्जाउ बनाए । अहिले उनको यो कर्मलाई सबैले सम्मान गरेका छन्, उदाहरण दिएका छन् ।
बाँदर-बँदेल र चुनौती
अर्याल भन्छन्, ‘गाउँमा बाँदर र बँदेलको आतंक छ । हामी उत्पादन त गर्छौं, तर त्यो बाली जोगाउन सक्दैनौं । यो समस्या समाधान नगरेसम्म किसानको भविष्य सुरक्षित हुँदैन ।’
तीन तहको सरकारले किसानको उत्पादन वन्यजन्तुबाट जोगाउने यथार्थपरक योजना बनाउनुपर्नेमा उनले जोड दिए । त्यस्तै बजार सञ्जाल, कोल्ड स्टोरेज, प्याकेजिङ प्लान्ट, ट्रान्सपोर्ट सुविधा जस्ता पूर्वाधार पनि चाहिने अर्यालको भनाइ छ । ‘यदि सरकार र पालिकाले थोरै ध्यान दिनसके गाउँमै युवा टिकाउन सकिन्छ’, अर्याल भन्छन् ।
उनको मेहनतलाई सम्मान गर्न पुगेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम भन्छन्, ‘अर्यालले गरेको काम केवल व्यक्तिगत प्रेरणा होइन, यो सिङ्गो कृषक समुदायका लागि ऊर्जा हो । सहर र विदेशको मोह त्यागेर गाउँ फर्केर यति ठूलो काम गर्न सकिन्छ भन्ने उदाहरण हो ।’
अर्याललाई धुर्कोट गाउँपालिकाले गरेको सम्मान पनि अरू किसानका लागि प्रेरणाको स्रोत बन्ने गौतमको भनाइ छ ।

Leave a Reply