हेटौंडा उपमहानगरका वडाध्यक्षमाथि आक्रमण, मोबाइल लुटियो

हेटौंडा । हेटौंडा उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि सांघातिक आक्रमण भएको छ ।

भूमिसम्बन्धी समस्या देखाउँदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका ४ जनाको समूहले उनलाई कार्यकक्षमै आक्रमण गरेको हो । उनीहरूले कार्यालयमा रहेका सामानले वडाध्यक्षको टाउकोमा प्रहार गरेर मोबिल छ्यापेका थिए ।

आक्रमणबाट वडाध्यक्ष न्यौपानेको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार वडाध्यक्ष न्यौपानेले चलाउने दुइटै मोबाइल आक्रमणकारीले लिएर गएका छन् ।

केही दिनअघिबाट हेटौंडा- १ स्वर्गलोक हेटौंडा अस्पताल पछाडि रहेको सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कार्यक्रम अघि बढाएको थियो । आक्रमणकारीले सोही विषयमा वडाध्यक्षमाथि आक्रमण गरेको आशंका गरिएको छ ।

घटनापछि मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँसहित अन्य वडाका अध्यक्ष घटनास्थल पुगेका छन् ।

प्रमुख लामाले प्रहरीलाई घटनाको गम्भीरताका साथ अनुसन्धान गर्न, दोषी पहिचान गरी कडा कानूनी कारबाही गर्न आग्रह गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *