काठमाडौं । नायक प्रदीप खड्का र निर्देशक सुदर्शन थापाले १० वर्षपछि चलचित्रमा सहकार्य गर्ने भएका छन् । निर्देशक थापाले नायक खड्कालाई लिएर चलचित्र ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन् ।
१० वर्षअघि ‘प्रेमगीत’मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काले त्यसपछि कुनै चलचित्रमा सहकार्य गरेका थिएनन् । निर्देशक थापाले यो चलचित्रका लागि अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए, तर दुवैतर्फबाट चलचित्रको नाम भने सार्वजनिक गरिएको थिएन ।
प्रेम कथामा आधारित ‘प्रेम गीत’ले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । यो चलचित्रबाट निर्देशक थापासँगै नायक खड्का र नायिका पूजा शर्माले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए ।
अहिले बन्न लागेको चलचित्र ‘शुभ विवाह’ पनि प्रेम कथामा आधारित पारिवारिक चलचित्र भएको निर्देशक थापाको भनाइ छ । यो चलचित्रले समाजको मूल्य मान्यतालाई आत्मसात गर्दै नेपाली धर्म र संस्कृतिअनुसार विवाहको महत्वलाई दर्शाउने थापा बताउँछन् ।
चलचित्रको लागि अभिनेत्री भने अहिलेसम्म टुङ्गो लागेको छैन ।

Leave a Reply