जेरुसेलम । विराटनगर महानगरपालिकाका मेयरसहितका केही नेपाली स्थलमार्ग हुँदै जोर्डनबाट नेपाल फर्किएको खबर आउँदा इजरायलमा काम र अध्ययनका सिलसिलामा रहेका अधिकांश नेपाली भने स्वदेश फर्किने पक्षमा छैनन् ।
बाहिर हल्ला आएजस्तो इजरायलमा त्यति ठूलो त्रास र आतंक पनि छैन कि ज्यान जोगाउनै नसकियोस् । इजरायलको बलियो प्रतिरक्षा प्रणाली र २ वर्षदेखिको युद्ध झेलिसकेकाहरूका लागि पछिल्लो इरानसँगको युद्द त्यति असामान्य होइन ।
केही दिनयता मध्यपूर्वमा जारी युद्धले विश्व राजनीतिलाई तताइरहेको छ । इजरायल र इरान युद्धले जनधनको क्षती बढाएको त छ नै, त्यससँगै अब के होला भन्ने त्रास भने कायमै छ ।
इजरायल नेपालीहरूका लागि राम्रो श्रम गन्तव्य मानिन्छ । खासगरी कृषि , एजकेयर जस्ता क्षेत्रमा नेपाली श्रमिकको रूपमा कार्यरत छन् । दुई सरकारबीच भएको सम्झौताअनुरूप रोजगारीका लागी इजरायल पुगेका नेपाली नागरिक पछिल्लो युद्धले त्रास र अन्यौलकै बीचमा छन् ।
बम, बारुदको आवाज र बंकरको बासमा रहेका नेपालीहरु यो त्रासभन्दा नेपालको अवस्थाले असन्तुष्ट छन् । युद्धकै कारण कतै सरकारले नेपाल फर्काउने पो हो की ? भन्ने चिन्ता छ उनीहरूलाई ।
नेपालमा गरिखाने उपाय नभएर इजरायल आएकाहरु अहिलेकै अवस्थामा स्वदेश फर्किन चाहँदैनन् । एक त नेपाल फर्किएर के गर्ने भन्ने अन्यौल छ भने अर्कातिर यहाँ राम्रै कमाइ र जीवनयापन चलिरहेको छ । इजरायल विगत २ वर्षदेखि लगातार युद्धमै रहेका कारण यहाँका नेपाली पनि बम बारुदहरूको आवाज र खतराका साइनरसँग अभ्यस्त भइसकेका छन् ।
लामो समयदेखि इजरायलमा कार्यरत काभ्रेकी खुश्बु नेपाल नेपालमा बेरोजगारीको तड्पाई भन्दा इजरायली बंकरमा बम बारुदको आवाजको तड्पाई सहज लागेको बताउँछिन् ।
युद्धको समयमा इजरायली सरकारले नागरिक सुरक्षाप्रति देखाएको चासो र सक्रियताप्रति उनी नतमस्तक छिन् । यहाँको सरकारको यो अवस्थामा पनि जनताप्रतिको चासो र सुरक्षा चिन्ता देखेर छक्क परेकी छन् उनी ।

नेपालमै कृषि कर्म गरेर ऋणले थिचिएपछि इजरायल पुगेका कैलालीका नवीन जोशी गरिखाने अवस्था नभएसम्म नेपाल नर्फकने बताउँछन् ।
करिब डेढ वर्षयता कृषि कामदारको रूपमा कार्यरत जोशी भन्छन् ‘यहाँ युद्धका मिसाइलभन्दा नेपालको ऋणको मिसाइल , बेरोजगारीको मिसाइल धेरै खतरनाक छन । नेपालमा कृषि गर्दा लागेको ऋणको तनावले मर्नुभन्दा यताको गोली खाएर मर्न तयार छौं ।’
पाल्पाका प्रदीप शर्मा पोखरेलको कुरा पनि त्यस्तै छ । उनी पनि नेपाल फर्कने मुडमा छैनन् । इजरायलको युद्ध भन्दा नेपालको राजनीतिक र सामाजिक अवस्था भयावह रहेको उनको भनाइ छ । इजरायलको मिसाइल युद्धभन्दा नेपालको दैनिक सामाजिक र राजनीतिक युद्ध भयावह लाग्ने उनी इजरायलमै बस्न चाहन्छन् ।

लामो समयदेखि इजरायलमा कार्यरत प्रवासी नेपाली मञ्च इजरायलका उपाध्यक्ष शिवराज खड्काले अघिल्ला युद्धहरु भन्दा यसपटक इरानसँगको युद्ध त्रासदीपूर्ण रहेको बताए । यद्यपी इजरायलको सुरक्षा प्रणालीका कारण नागरिकले पूर्व सूचना प्राप्त गर्ने हुँदा तत्कालै सुरक्षित स्थानमा पुग्न सकिने उनी बताउँछन् ।
तत्कालै नेपाल जाने अवस्था नरहेको बताउँदै आगामी दिनहरूमा युद्धको अवस्था हेरेर देश फर्कने वा नर्फकने टुंगो लाग्ने खड्काको भनाइ छ । कामदारहरूले देश फर्कने अनिच्छा देखाइरहँदा नेपाल सरकारले भने उनीहरुको सुरक्षा र अवस्था प्रति चासो देखाएको छ ।
सूचना जारी गर्दै आपतकालीन अवस्थामा सम्पर्कमा आउन इजरायलस्थित राजदूतावासले आग्रह गरेको छ । दूतावासले २४ घण्टे हटलाइन सेवा समेत सुचारु गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा ५ हजार ५ सय नेपाली कार्यरत रहेका छन् ।
हमास लडाकुले २ वर्षअघि इजरायलभित्रै घुसेर गरेका आतंकवादी हमलामा १० नेपाली नागरिकको समेत ज्यान गएको थियो । त्यसबेला धेरै नेपालीलाई सरकारले विमान चार्टर्ड गरेर र भारतसँग समन्वय गरेर स्वदेश फर्काएको पनि थियो । तर, तीमध्ये धेरैजसो अहिले इजरायल फर्किसकेका छन् ।

बाहिर प्रचार भएजस्तो भयावह अवस्था इजरायलमा छैन । यद्यपि युद्ध हो, कुनै पनि बेला जे पनि हुनसक्छ । तर, पनि अहिले अधिकांश कामदार नेपाली स्वदेशको बेरोजगारी, ऋण र असन्तुष्टिको अवस्था सम्झेर पनि फर्किन लालायित छैनन् ।
(इजरायलमा कार्यरत नीता राउत नेपाल प्रेसको पश्चिम एशिया संवाददाता हुन्)

Leave a Reply