काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा एमालेमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताएका छन् । समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको भन्दै देखिएका केही समस्या समाधानका लागि कसैको सहयोग नचाहिने प्रष्ट पारे ।
नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भने, ‘कतैपनि सग्लो पार्टी भेटिँदैन । धोएको मुला जस्तो, गंगाजल जस्तो पार्टी भेटिँदैन । तर, एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।’
एमालेमा केही केही समस्या भए पनि तिनलाई नीति र विधिको माध्यमबाट समाधान गरिने पौडेलको भनाइ छ । भदौको तेस्रो साता हुने विधान महाधिवेशनले १० औं राष्ट्रिय महाधिवेशनपछि पार्टीले वैधानिक रुपमा सच्याउनु पर्ने, कार्यान्वयन गर्न भएका अप्ठ्यारालाई सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।
‘विधान महाधिवेशनदेखि हालसम्म पार्टी संगठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रुपमा नै सुधार गर्ने विधी तय गर्नेछौं’, उपाध्यक्ष पौडेलले भने, ‘केन्द्रीय कमिटीले विधानमा संसोधन गर्नुपर्ने विषयहरु प्रस्ताव गर्दछ । यी विषयहरु हामी महाधिवेशन प्रतिनिधीलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौं ।’
उनले विधान महाधिवेशन नै नभइ पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न उनले जनसंगठनलाई निर्देशन दिएका छन् ।
‘विधान महाधिवेशनभन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं । विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौंला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन’, पौडेलले भने ।
उपाध्यक्ष पौडेलले पार्टी र जनसंगठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने बताए ।
‘एमालेमा कुनै बेला सिठ्ठी फुकेको भरमा हजारौं मानिस सडकमा आउँथे । अहिले किन मानिसहरू शिथिल भएका छन् ? आम जनतामा ऊर्जा भर्न र जनताको बीचमा जान पार्टीका महत्वपूर्ण अंग जनसंगठन नै हुन् । उनीहरूले यो भूमिका निर्वाह गर्न जरुरी छ’, उनले थपे ।
२०४६/०४७, २०६२/०६३ सालका जनसंगठन धेरै सशक्त भएको स्मरण गर्दै पौडेलले वर्तमान अवस्थामा जनसंगठन पनि सुस्ताएको बताए ।
‘जनसंगठन पार्टीको ब्याड हो । यहाँ रोपेका विरुवा हुर्किएपछि पार्टीमा सारिन्छ’, उनले भने, ‘त्यसैले मुलरूपमा पार्टीको सम्पर्कमा नयाँ मानिसहरुलाई ल्याउने काम जनसंगठनको नै हो । तर, अहिले कतिपय जनसंगठनले पार्टीकै कार्यकर्ता लगेर संगठित गर्ने अनि फेरि पार्टीमै फर्काइदिने गरेका छन् । यसले संगठन र पार्टीको बिस्तार हुँदैन ।’
जनसंगठन संयन्त्रको बैठकमा इन्चार्जहरुले रिर्पोटिङ गर्ने क्रम जारी छ । संयन्त्रका इन्चार्ज भानुभक्त ढकालका अनुसार हालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज,अध्यक्ष,निवर्तमान अध्यक्ष र महासचिवहरु बैठकमा सहभागी छन् ।

Leave a Reply