काठमाडौं । प्रदर्शनरत चलचित्र ‘महाभोज’ ले राजधानीमा विशेष शोको आयोजना गरेको छ। सोमबार आयोजित यो शोमा नेपाली चलचित्र, साहित्य र अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले ‘महाभोज’ हेरेका छन् ।
शोमा कलाकार हरिवंश आचार्य, सरोज खनाल, जितु नेपाल, आयुष्मान देशराज जोशी, परीक्षा लिम्बु, निर्देशक तुलसी घिमिरे, नवीन चौहान, प्रदीप भट्टराई, साहित्यकार अमर न्यौपाने, विवेक ओझा, राजनीतिक विश्लेषक मुमाराम खनाल, समाज शास्त्री निर्मला ढकाल लगायतको उपस्थिति थियो।
सहकारी ठगी र सहकारी पीडितको कथा उठान गरिएको ‘महाभोज’ हेरेपछि उपस्थित सबैले चलचित्रको खुलेर तारिफ गरेका छन् । संवेदनशील सामाजिक यथार्थ र मानवीय संवेदनशीलतालाई गहिराइमा चित्रण गरेको बताउँदै सबैले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् । भने धेरैले ‘महाभोज’ एकपटक हेर्नै पर्ने चलचित्र बनेको पनि बताएका छन् ।
महाभोज हेरेर निस्किएका साहित्यकार अमर न्यौपानेले चलचित्रले कानुनी राज्यको चुनौती माथि प्रश्न उठाएको बताए । ‘यत्रो सङ्घर्ष गरेर हामीले संविधान र कानुन बनाएका छौँ । हामी २०८२ सालको लोकतान्त्रिक गणतन्त्रमा छौँ तर सहकारी पीडितहरूलाई न्याय गर्न कानुनले कुनै काम गरेको छैन । पीडकहरू अझै पनि प्रमाण लुकाउने ठाउँमा छन् । यत्रो ठुलो परिवर्तनपछि पनि कानुनले काम नगर्दा बल प्रयोग गर्नुपर्ने हो त भन्ने प्रश्न यो चलचित्रले उठाउँछ,’ उनले जोडे।
चलचित्र हेर्न पुगेका वरिष्ठ हाँस्य-कलाकार हरिवंश आचार्यले चलचित्रले जनताको पैसाको दुरुपयोग कसरी हुन्छ भन्ने यथार्थ चित्रण गरेको बताए । जनताको पैसालाई माथिल्लो स्तरसम्मका नेताहरूले कसरी अपचलन गरेका छन् भनेर चलचित्रमा राम्रोसँग देखाएको उनले बताए ।
अर्का कलाकार सरोज खनालले पनि चलचित्रको मुख्य सन्देशलाई प्रकाश पार्दै भने, ‘गोली ठोकेर मान्छे मार्ने मात्र हत्यारा हुँदैन, मर्न बाध्य पार्ने मान्छे सबभन्दा ठुलो हत्यारा हुन्छ भन्ने सन्देश नै ‘महाभोज’ ले दिएको सबैभन्दा ठुलो सन्देश हो । हाम्रो देशमा यो प्रकृति भएका धेरै मानिसहरू छन्, उनीहरूलाई यो चलचित्रले झकझक्याउँछ ।’
कलाकार जितु नेपालले चलचित्रको विषयवस्तुको मार्मिकता र यथार्थपरकताको प्रशंसा गरे । उनले भने,’चलचित्रले उठाएको विषयवस्तु नै एकदम राम्रो र मार्मिक छ । यसमा सहकारी ठगीलाई जसरी देखाइएको छ, त्यो यथार्थपरक छ । समग्रमा चलचित्र अत्यन्त रमाइलो छ।’
त्यस्तै, कलाकार परीक्षा लिम्बुले पनि चलचित्रले नेतृत्वको नकारात्मक प्रभाव कसरी समाजमा पर्छ भन्ने कुरा देखाएको उल्लेख गरिन् । ‘मलाई एकदमै यथार्थ महसुस भयो । एक जना नराम्रो नेतृत्वको कारणले पूरै समाजलाई कति नकारात्मक समस्या पर्छ भन्ने उदाहरण यो चलचित्रले देखाएको छ,’ उनले सुनाइन् ।
दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको ‘महाभोज’ क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । हिमाल कडरियाले निर्माण गरेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतका कलाकारहरूको अभिनय छ ।

Leave a Reply