स्याङ्जामा नेतामाथि भएको आक्रमण आपत्तिजनक र निन्दनीय : रास्वपा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जामा दुई केन्द्रीय नेतामाथि सोमबार दिउँसो भएकाे आक्रमणकाे निन्दा गरेकाे छ ।

रास्वपाले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणको घोर निन्दा गरेको छ।

‘देशमा विद्यमान लुटतन्त्रको अन्त्य गर्न गरिएको अभियानप्रति देखिएको डरकै कारण यस्तो आपराधिक हमला गरिएको हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘रास्वपा यस्ता हिंसात्मक कार्यको कडा शब्दमा विरोध गर्दछ।’

रास्वपाले दोषीलाई तत्काल पक्राउ गरी कानूनअनुसारको कडा कारबाहीको माग गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झा अनुसार, “यस प्रकारको आक्रमणले हाम्रो सुशासन र लुटतन्त्रविरुद्धको अभियानलाई कतैबाट विचलित पार्दैन। यस अभियानमा हामी अझ सशक्त भएर अघि बढ्नेछौं।”

आँधिखोला नदीमा भइरहेको चरम प्राकृतिक दोहन रोक्न तथा सम्भावित प्राकृतिक विपद् नियन्त्रणको माग राख्दै आवाज रास्वपा का दुई केन्द्रीय नेतामाथि आक्रमण भएको  थियाे ।

रास्वपाका केन्द्रीय सदस्य तथा अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपालमाथि वालिङ नगरपालिका वडा नं. १० का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरी आक्रमण गरेकाे हाे।

वडाध्यक्ष खनालले बाटोमै रोकेर दुर्व्यवहार गर्दै उनीहरूलाई रड प्रहार गरेका थिए। आक्रमणमा परेका दिनकर नेपाल गम्भीर घाइते भएका छन्।

उनले लगाएको हेलमेट फुटेको छ भने उनलाई बचाउने क्रममा दाहिने हातमा गम्भीर चोट लागेको, फ्याक्चरसमेत भएको र पोखरास्थित अस्पतालमा सिटि स्क्यानका लागि लैजाने क्रममा रहेको जानकारी प्राप्त भएको छ।

रास्वपाले घाइते नेताहरूको उपचारका लागि आवश्यक सबै जिम्मेवारी लिने जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *