जुम्ल्याहा एरिक–इभान न सुन्न सक्छन् न बोल्न,उपचारका लागि अभिभावकसँग छैन कुनै स्रोत

रुपन्देही । चार वर्षका जुम्ल्याहा छोराहरु सुन्न र बोल्न नसक्ने भएपछि कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ३ मा स्थायी घर भई हाल रुपन्देहीको सिद्धार्थनगर ९ बस्ने सन्तराम थारु तथा सुनिता कार्कीलाई दिनदिनै पीडा थपिएको छ ।

उनीहरुका जुम्ल्याहा छोराहरू एरिक थारु र इभान थारु दुबै भाइले कानले सुन्न र बोल्न सक्दैनन् । जन्मजातै सुन्न नसक्ने एरिक र इभानको सल्यक्रिया गरेर समाधान हुने चिकित्सकले सल्लाह दिएपनि उनीहरुसमक्ष त्यो रकम नै छैन ।

४० लाखभन्दा बढी खर्च लाग्ने उपचारका लागि यो दम्पत्तिले आफ्नो क्षमताभन्दा बाहिर भएकाले नसकेको जनाएका छन् । उनीहरुले आफ्ना सन्तानको उपचारमा आर्थिक सहयोग गर्न अनुरोध गरेका छन् ।

एरिक र इभानका बुबाआमा सन्तराम र सुनिताले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी आफ्ना छोराहरुको उपचारमा आर्थिक सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

काठमाडौंस्थित टिचिङ अस्पतालमा चेकजाँच गराउँदा शल्यक्रियामार्फत् ‘कक्लियर इम्प्लान्ट’ राखे उनीहरुले सुन्न सक्ने चिकित्सकहरुले बताएको सुनिताले बताइन् । ‘कक्लियर इम्प्लान्ट’ एक इलेक्ट्रोनिक मेडिकल उपकरण हो । जसले मध्यमदेखि गहिरो सेन्सोरिनल श्रवणशक्ति हानी भएका व्यक्तिहरूलाई ध्वनी बुझ्न मद्दत गर्छ । यो शल्यक्रियाद्वारा प्रत्यारोपित गरिन्छ र भित्री कानको क्षतिग्रस्त भागहरूलाई बाइपास गरेर श्रवण तन्त्रिकालाई प्रत्यक्ष रुपमा सक्रिय बनाउँछ । यसले गर्दा मस्तिष्कले यसका संकेतहरुलाई ध्वनिको रुपमा सुन्नसक्ने क्षमता विकास गर्छ ।
दुई छोराको कानमा ‘कक्लियर इम्प्लान्ट’ राख्न ४० लाख रुपैयाँ हाराहारी खर्च लाग्ने चिकित्सकले बताएका छन् । ‘हामीसँग त्यति ठूलो रकम छैन, सहयोगी मनहरुले आर्थिक सहायता दिए मात्रै हामीले बाबुहरुको उपचार गर्न सक्छौं । होइन् भने उनीहरु कान नसुन्ने हुने भए’ सुनिताले भनिन् । चिकित्सकहरुले कान सुन्ने भएमा बालकहरुलाई तीन महिना स्पिच थेरापी गराएरमा बोल्न सक्ने हुने बताएको सुनिताको भनाई छ ।
‘कक्लियर इम्प्लान्ट’ विधि नेपालमा सफल मानिन्छ । यो विधि भैरहवामा मात्रै ४ जना बालकहरुले शल्यक्रियामार्फत् प्रयोग गरी अहिले बोल्न र सुन्न सक्ने भएका छन् । ‘कक्लियर इम्प्लान्ट’लाई मात्रै करिब १५ लाख पर्ने सुनिताले जनाइन् । दुबैजनाको कानमा राख्दा ३० लाख यसैको मात्र पर्ने र शल्यक्रियासहित उपचार गर्दा ४० लाख लाग्ने थारु परिवारको भनाइ छ ।

भदौभित्र शल्यक्रिया गरी दुबैजनाको कानमा ‘कक्लियर इम्प्लान्ट’ राख्न चिकित्सकले सुझाव दिएकाले आफूहरुले आर्थिक सहायताका लागि सबैमा आग्रह गरेको उनको भनाई छ ।

‘हाम्रो घरको आर्थिक अवस्था उक्त उपचार खर्च धान्न सक्ने अवस्थामा छैन । सबै संस्था तथा व्यक्तिगत तर्फबाट सहयोग भएमा अवोध बच्चाहरूको सुन्नसक्ने र बोल्न सक्नेगरी उपचार गर्न सम्भव थियो’, सुनिताले भनिन् ।

बोल्न र सुन्न नसक्ने यी बालकहरू पनि यही संसारका अमूल्य हिस्सा भएकाले जतिसक्दो सहयोग गर्न थारु परिवारको आग्रह छ । ‘उपचारको अभावमा बाबुहरु मौन पीडामा बाँचेका छन् । तपाईंरुको सानोहयोगले उनीहरूको जीवनमा आशाको उज्यालो फैलिन सक्छ’, उनले भनिन् ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले मानवीय सेवामा लागेका सबै संघसंस्था, व्यक्ति तथा निजी क्षेत्रलाई बालकहरुको उपचारमा सहयोग गर्न आग्रह गरे । थारु परिवारमाले मुक्तिनाम विकास बैंकमा एरिक र इभानको नाममा खाता खोलेर सहयोगका लागि आह्वान गरेका छन् । 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *