कांग्रेसले भोलि नै बस्नेगरी किन बोलायो बैठक ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भोलि बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको छ, तर कांग्रेसको पूर्वनिर्धारित बैठक असार १५ गते बस्दैछ।

यो बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा, रास्वपा र राप्रपाको अवरोध, पार्टीको १५ औँ महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुँदैछ, तर भोलि नै बस्नेगरी कांग्रेसले आकस्मिक बैठक किन बोलायो हामीले प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मालाई सोध्यौं ।

उनले भोलि राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक नबोलाएको बताए ।

उनले भने, ‘पार्टीका वरिष्ठ नेता ढुण्डिराज शास्त्रीको हिजो निधन भयो । शोक प्रस्ताव पारित गर्नमात्रै बैठक बोलाइएको हो । अरू विषयमा भोलिको बैठकमा छलफल हुँदैन ।’

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य तथा पूर्वमन्त्री शास्त्रीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा हिजो निधन भएको थियो ।

शास्त्रीको पार्थिव शरीरलाई भोलि बिहान ९ देखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यहीबाट शवयात्रा सुरु गर्ने उनले बताए ।

२०४८ र २०५१ मा शास्त्री अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *