काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले रास्वपाका सांसदहरूले सदनमा अभद्र व्यवहार देखाएको भन्दै निष्कासनसम्मको माग गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक श्याम घिमिरेले यस्तो माग गरेका हुन् ।
प्रतिनिधिसभाको नियमावली पल्टाउँदै उनले रास्वपा सांसदहरूले अभद्र व्यवहार देखाएको टिप्पणी गरे ।
मर्यादित पोसाकमा नआई केही सांसद स्कार्फ लगाएर आएको भन्दै घिमिरेले भने, ‘कोही हाफ पाइन्ट लगाएर आउने, भोलि आफूखुसी कपडा लगाएर आए संसदीय मर्यादाभित्र राख्ने कि नराख्ने ?’
‘नियमावली ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्नेछन् । र, चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ भनिएको छ । साथै बैठक कक्षबाट निष्कासन गर्न सक्नेसमेत व्यवस्था नियमको ३१ मा गरिएको छ । सभामुख महोदय ! यस्तो किसिमको व्यवहार गर्नेलाई चेतावनी दिने र संसदबाट निष्कासित गर्ने कारबाही गर्ने आवश्यक छ ।’
रास्वपाका सांसदहरू मानव तस्करीविरुद्धको अभियानको विश्वव्यापी प्रतीक भन्दै ‘नीलो रिबन’ लगाएर संसद छिरेका थिए ।
घिमिरेले बोल्दा रास्वपाका सांसदहरूले वेल घेराउ गरेर गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै नाराबाजी गरिरहेका छन् ।

Leave a Reply