युकेमा ब्रिज डिकेड कप हुँदै, सन्दीपले पनि खेल्ने

काठमाडौं । ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सवको अवसरमा ब्रिज डिकेड कप आयोजना गर्ने भएको छ ।

असार ७ गते युकेस्थित डेवाइजिस क्रिकेट मैदानमा ब्रिज-११ र डेभिजेस क्रिकेट क्लबबीच मैत्रीपूर्ण खेल हुनेछ । ब्रिज-११ को नेतृत्व नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले गर्नेछन् । उनी ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका ब्रान्ड एम्बेस्डरसमेत हुन् ।

ब्रिज इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले ब्रिज डिकेड कप कम्पनीको दशक लामो सफलताको उत्सव मात्र नभएर सामाजिक उत्तरदायित्वको सन्देश बोकेको कार्यक्रम भएको बताए ।

‘१० वर्षे यात्राको सम्मानमा हामी खेल, सद्भाव र सेवा एकैसाथ ल्याउने प्रयासमा छौं। खेलमार्फत सन्देश दिँदै, संकलन हुने रकम नेपालका अनाथ बालबालिकाको सहयोगमा प्रयोग हुनेछ,’ उनले भने ।

यो प्रतियोगिता नेपाली डायस्पोरा, खेलप्रेमीहरू र स्थानीय समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको संयोजक विज्ञान कार्कीले जानकारी दिए ।

कार्यक्रमका निर्देशक अमित प्रकाश घिमिरेले दशक लामो सेवाको यात्रालाई समाज प्रतिको जिम्मेवारीमा परिणत गर्ने यो प्रयास ब्रिज इन्टरनेशनलको मूल्यमा आधारित भएको बताए। प्रतियोगिताबाट संकलित सम्पूर्ण रकम नेपालका विभिन्न अनाथ आश्रमहरूमा सहयोग स्वरूप हस्तान्तरण गरिनेछ।

ब्रिज इन्टरनेशनलले नेपाली समुदायमा खेलकुद, सद्भाव र सामाजिक सेवाको संयोजन प्रस्तुत गर्दै दशक लामो यात्रालाई ऐतिहासिक बनाउने तयारी गरिरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *