धरौटीमा छोड्ने आदेशपछि राणाले भने- राज्यले फसाउन खोजेको अदालतले बुझ्यो (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाले आफूलाई ३ लाख धरौटीमा छोड्ने अदालतको आदेशप्रति खुशी व्यक्त गरेका छन् । राज्यले आफूहरुलाई फँसाउन खोजेको तर अदालतले रोकेको उनको टिप्पणी छ ।

अदालतबाट बाहिरिने क्रममा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै डा. राणाले अदालतलाई धन्यवाद दिए ।

उनले भने, ‘राज्यले हामीलाई फँसाउन खोजेको थियो, तर अदालतले बुझेर धरौटीमा रिहा गरेको छ । अब हामीले पूर्ण न्यायको आशा गरेका छौं ।’

तीनकुनेको आन्दोलनमा राज्यको उग्रताले नै हिंसा भड्किएको राणाले आरोप लगाए ।

‘शान्तिपूर्ण आन्दोलनमा राज्यले दमन गरेको हो । यसको जिम्मेवार पनि राज्य हुनुपर्छ । न्यायालयले कुरा बुझेर छोडेको छ । अरु साथीहरुलाई छोड्छ र राज्यलाई नै दोषि ठहर गर्छ भन्न विश्वास लिएको छु’, उनले भने ।

राजावादी आन्दोलन हराएको हो भन्ने पत्रकारको प्रश्नमा उनले इन्कार गरे ।

राणाले भने, ‘आन्दोलन हराएको छैन । हामी दोस्रो चरणका लागि होमवर्क गरिररहेका छौं । वर्षात पनि आइसकेको छ । शान्तिपूर्ण आन्दोलन हुन्छ । हामी हिंसामा विश्वास गर्दैनौं । तर राज्यले नांगो नाच देखाइरहेको छ । त्यसको घोर विरोध जनताले गर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु ।’

प्रहरीले बोलाएको समयमा उपस्थित नभएको विषयमा उनले भने, ‘बयान दिने र बहस गर्नेहरुको सूची लामो थियो । हामी त्यसबेला आएकोउ भए २०/२५ दिन फेरि थुनिनुपथ्र्यो । अदालतले दिएको सुविधा नै उपभोग गरेका हौं । रविन्द्रजी पनि चाँडै उपस्थित हुनुहुनेछ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *